काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा एपिएफले आर्मीलाई छ रनले हराएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा एपिएफले जितका लागि दिएको दुई सय ४१ रनको लक्ष्य पछ्याएको आर्मी निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३४ रनमै सीमित भयो ।
आर्मीका अनिल मण्डलले ४५ रन बनाउँदा राजेश पुलामीले ३३ रन बनाए । रोहित पौडेलले ३० रन जोड्दा विक्रम सोबले २८ तथा भीम सार्कीले २७ रन बनाए । लोकेश बमले २१ रन बनाउँदा शाहव अलामले अजिवित २० रन जोडे ।
एपिएफका कमल ऐरीले तीन विकेट लिँदा भुवन कार्कीले दुई तथा अभिनाष बोहोराले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै दुई सय ४० रन बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले ४६ रन बनाउँदा सुवास खकुरेलले ३८ तथा सन्दीप जोराले २८ रन बनाए ।
अमर सिंह रौटेलाले २६ रन जोड्दा कप्तान शरद भेषवाकर २४ रन तथा वसन्त रेग्मीले २० रन बनाए ।
आर्मीका हरि चौहानले पाँच विकेट लिए भने शाहब आलमले दुई तथा आकाश चन्द, सुशन भारी र विक्रम सोबले एक–एक विकेट लिए ।
जितसँसगै एपिएफ समूह विजेता बनेको छ । समूह ‘ए’ मा रहेका दुवै टिम यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
अब एपीएफले सेमिफाइनल नेपाल पुलिस क्लबसँग खेल्नेछ । आर्मीले वागमती प्रदेशसँग खेल्नेछ ।