विराटनगर/कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिएका फ्रन्टलाइनरलाई लगाइने खोप विराटनगर आइपुगेको छ । भारत सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ सोमबार विराटनगर आइपुगेको हो । सङ्घीय सरकारले विराटनगर पठाएको खोप पहिलो चरणमा ३५ हजार फ्रन्टलाइनरलाई लगाइनेछ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार ३५ हजार पाँच सय ७६ जनालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी छ ।
उनका अनुसार मोरङमा १२ हजार एक सय ५६, सुनसरीमा पाँच हजार चार सय २०, झापामा पाँच हजार एक सय ७७, धनकुटामा आठ सय ५८, उदयपुरमा एक हजार दुई सय ७६, भोजपुरमा एक हजार दुई सय ३५, इलाममा एक हजार सात सय २४ जनालाई पहिलो चरणमा खोप लगाइनेछ ।
त्यस्तै, ओखलढुङ्गामा एक हजार तीन सय ७१, खोटाङमा एक हजार ६ सय १८, तेह्रथुममा सात सय ९२, सङ्खुवासभामा नौ सय ६१, सोलुखुम्बुमा सात सय ९२ जना फ्रन्टलाइनरलाई खोप लगाउने तयारी गरेको छ ।
प्रदेश २ को सप्तरी र सिरहाका लागि पनि विराटनगरबाट नै खोप पठाइनेछ । सिरहामा तीन हजार नौ सय ३० र सप्तरीमा तीन हजार सात सय ५४ जनालाई खोप लगाइनेछ । खोप लगाउनका लागि प्रदेश सरकारले कर्मचारीलाई तालिम दिइसकेको छ ।
प्रदेश १ समामाजिक विकास मन्त्रालयअस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका अनुसार जिल्ला अस्पतालमा रहेका जनशक्तिले पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई खोप लगाउनेछन् । पहिलो डोज लगाएको एक महिनापछि पुनः दोस्रो डोज पनि लगाइने उनले बताए ।