विराटनगर/कलेजो शरीरको महत्वपूर्ण अङ्गमध्ये एक हो ।
कलेजो खाना पचाउन र विषाक्त पदार्थलाई शरीरबाट निष्कासन गर्नका लागि आवश्यक हुन्छ । उमेर बढेसँगै वा जीवनशैलीमा ध्यान नदिँदा कलेजोमा समस्या हुने रोग लाग्ने वा कलेजो बिग्रन सक्छ । कलेजो रोग वंशाणुगत पनि हुनसक्छ । परिवारका कुनै एक सदस्यमा कलेजोको समस्या भए अन्य सदस्यामा पनि हुने जोखिम बढ्छ ।
कलेजोमा रोग लाग्ने विभिन्न कारण हुन्छन् । कजेकोमा हुने सङ्क्रमण (हेपाटाइटिस ए, बि र सी) । कलेजोमा बोसो जम्ने समस्या, डाक्टरको सल्लाहविना सेवन गरिएका औषधि, कलेजोमा हुने विभिन्न क्यान्सर, प्रतिरक्षा प्रणालीमा गडबड भएर पनि कलेजोमा क्षति पुग्न गई कलेजोसम्बन्धी रोग देखिन सक्छ ।
अत्यधिक रक्सीको प्रयोग, कलेजो रोग भएको पारिवारिक इतिहास भएमा, मोटोपना, टाइप २ मधुमेह, साझा सुई प्रयोग गरेमा, अन्य व्यक्तिको रगत वा शरीरको तरल पदार्थको सम्पर्कमा आएमा, ट्याटू बनाउने वा शरीरमा छेड्ने गरेमा, असुरक्षित यौन भएमा तथा केही रसायन वा विषाक्त पदार्थसँग एक्सपोजर भएमा कलेजो रोगको जोखिम बढ्न सक्ने देखिन्छ ।
कलेजोमा रोग लाग्दा सजिलै देख्न सकिने सङ्केत तथ लक्षण निम्त्याउँदैनन् । सुरुवाती चरणमा नभएर समस्या धेरै गम्भीर हुँदै जाँदा मात्र लक्षण देखिने हुँदा समयमा ध्यान दिन जरुरी हुन्छ । कलेज रोग हुँदा छाला र आँखा पहेँलो हुने (जन्डिस), पेट दुखाइ तथा सुन्निने, खुट्टा र गोलीगाँठो सुन्निने, छाला चिलाउने, पिसाबको रङ गाढा हुने, दिसाको रङ फिक्का हुनेजस्ता लक्षण देखापर्न सक्छ ।
साथै, लामो समयसम्मको थकान, वाकवाकी लाग्ने वा बान्ता हुने, भोक कम लाग्ने, सजिलै शरीरमा घाउ हुने पनि कलेजोमा क्षति पुग्दा देखिने लक्षण हुन् । कलेजो रोगको जटिलता बिरामीमा कलेजोमा भइरहेको समस्यामा निर्भर गर्छ ।
समय बित्दै जाँदा कलेजोलाई हानी गर्ने अवस्थाले दाग लाग्न सक्छ (सिरोसिस) । तर, प्रारम्भिक उपचार र जीवनशैलीमा परिवर्तन गर्दै लगेमा कलेजोलाई निको पार्न सकिन्छ ।
उपचार नगरिएको कलेजो रोगले कलेजोको विफलता (लिभर फेलियर) हुन सक्छ, जुन घातक हो ।