विराटनगर । स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिकोले भ्यालेन्सियामाथि ३–१ गोलको सहज जित दर्ता गरेको हो ।
घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन जाओ फेलिक्स, लुइस स्वारेज र एन्जल कोरेर्राले समान एक–एक गोल गरे । भ्यालेन्सियाका उरोस राकिकले एक गोल गरे ।
खेलको ११औं मिनेटमा राकिकले गोल गरेपछि भ्यालेन्सियाले सुरुआती अग्रता बनाएको थियो । २३औं मिनेटमा फेलिक्सले गोल गरेपछि एथ्लेटिको बराबरीमा फर्कियो ।
५४औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाउँदा ७२औं मिनेटमा कोरेर्राले गोल गर्दै ३–१ गोलको जित दिलाए ।
जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले सात अङ्कको अग्रता बनाएको छ । १८ खेल खेलेको एथ्लेटिकोसँग ४७ अङ्क छ । दोस्रो स्थानको रियलसँग ४० अङ्क छ । उसले १९ खेल खेलेको छ ।
पराजित भ्यालेन्सिया भने २० अङ्कसहित १४औं स्थानमा छ ।