काठमाडौँ/जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद् पुनःस्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कारण समस्या समाधान नहुने बताएका छन् ।
आइतबार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापामगर समूह)बीच पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद् पुनःस्थापना भए पनि सत्तारुढ नेकपा कानुनी रूपमा विभाजित नभएको अवस्था भएकाले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने बताए ।
कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए । सङ्घीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरूलाई समाप्त पारी मुलुकलाई पछाडि धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।. संसद् विघटनको कदमलाई खारेज गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उनको भनाइ छ ।
वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक–पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे । कम्युनिस्ट र काङ्ग्रेसले देशलाई गोलचक्करमा फसाएको उनले बताए ।
जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापामगर समूह)बीच आइतबार ललितपुरमा एक कार्यक्रमका बीच पार्टी एकता घोषणा भएको छ ।