काठमाडौँ/कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरूले प्रदर्शन गरेका छन् ।
खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौँको माइतीघरमा सरोकारवालाहरूले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयविरुद्ध विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयबाट सरकार तत्काल पछाडि हट्नुपर्ने बताए । आफूहरूले वैदेशिक लगानीको विरोध नभई प्राथमिक कृषिमा वैदेशिक लगानी ल्याउने र विदेशीलाई कृषि प्राकृतिक क्षेत्रको जिम्मा लगाउने कुराको विरोध गरेको उनले बताए ।
सरकारले प्रथामिक तहमा वैदेशिक लगानी भित्र्याएर किसानहरूको गास खोस्न खोजेको आरोप संयोजक अधिकारीको छ । कृषिको प्राथमिक क्षेत्रमा नभई मूल्य शृङ्खलाका कुराहरूमा वैदेशिक लगानी भित्र्याउन सक्ने सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर अगाडि बढ्न सकिने पनि अधिकारीले बताए ।
विरोध प्रदर्शनमा सहभागीहरूले खाद्य सम्प्रभुताको सम्मान गर्दै नेपालको कृषिलाई आत्मनिर्भर, दिगो र पर्यावरणमैत्री खेतीपातीको दीर्घकालीन दृष्टिकोण बनाउन पहल भइरहेको अवस्थामा सरकारले दूरगामी प्रभावको ख्याल नगरी हचुवाको भरमा निर्णय गरेकाले आन्दोलन गर्नुपरेको बताए ।
प्रदर्शनमा ‘खाद्य सुरक्षा तथा सम्प्रभुताको अधिकार सुनिश्चित गर,’ ‘कृषिको प्राथमिक उत्पादनमा खुला गरिएको वैदेशिक लगानीसम्बन्धी प्रावधान खारेज गर,’ ‘कृषिमा वैदेशिक लगानीसम्बन्धी प्रावधान खारेज गर,’ ‘जनमुखी भूमिसुधार लागू गर,’ ‘भमिहूीन, साना तथा सीमान्त किसानको भूमि तथा कृषि अधिकार सुनिश्चित गर’लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो ।