विराटनगर । राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली एपिएफले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा एपिएफले मोरङको विराटनगर महानगरपालिकालाई ७–० गोलले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई जिताउन सावित्रा भण्डारी ‘साम्बा’ले चार गोल गरिन् भने अनिता केसीले दुई तथा सरु लिम्बूले एक गोल गरिन् ।
खेलको नवौं मिनेटमा अनिताले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् । २६औं मिनेटमा सावित्राले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् ।
४२औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफभरि एपिएफको अग्रता तेब्बर बनाइन् ।
७०औं मिनेमा सरुले गोल गर्दै एपिएफलाई ४–० गोलको अग्रता दिलाउँदा ७३औं मिनेटमा सावित्राले गोल गर्दै प्रतियोगितामा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरिन् । यसअघि चन्द्रपुर नगरपालिकालाई ६–० गोलले हराउँदा सावित्राले ह्याट्रिक गरेकी थिइन् ।
यस्तै खेलको ७९औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ६–० गोलको अग्रता दिलाइन् । ८८औं मिनेटमा सावित्राले चाैथाे गोल गर्दै एपिएफलाई ७–० गोलको जित दिलाइन् ।
यससँगै एपिएफले लागातार दोस्रो जित दर्ता गरेको छ । यसअघि उसले चन्द्रपुरलाई ६–० गोलले हराएको थियो । विराटनगरले भने यसअघिको पहिलो खेलमा स्याङ्जाको वालिङसँग बराबरी खेलेको थियो ।