birat ribon

भोकाहरू

Neuro
भोकाहरू
सनत सापकोटा

घटना कहिले घट्यो त्यसको यकिन हुन सकेको छैन । सत्य, त्रेता, द्वापर, कली अथवा प्राचीन, मध्य, आधुनिक कुन कालमा यो भएको थियो त्यसको पनि कुनै प्रमाणिकता अहिलेसम्म फेला परेको छैन ।

Padelux insider
cura insider

कथा भन्छ, घटना यस्तो थियो– त्यो समयमा पनि समाजमा ठूलो विभेद थियो । मान्छेहरू आजजस्तै धनी–गरिब, शोषक–शोषित, शासक–शासितमा विभक्त थिए । धर्मले पनि मान्छेलाई विभाजित गर्ने काम मात्र गरेको थियो । करिब ९० प्रतिशत विपन्नहरू १० प्रतिशत कुलिनहरूद्वारा शासित र शोषित थिए । शासकहरूको जीवनशैली विलासितापूर्ण थियो भने शासितहरूको अत्यन्तै कष्टकर । शासितहरू प्राय कृषक वर्गका थिए ।

तरकारी, फलफूल र अन्नपातको उत्पादन उनीहरू नै गर्दथे तर त्यसको आवश्यकीय उपभोग स्वयं गर्न पाउ“दैनथे । सबै कुरा शासकहरूकै नियन्त्रणमा थियो । मरिमरि काम गर्दा पनि कृषकहरूलाई भोकै बस्नुपर्ने अवस्था विद्यमान थियो । यस्तो अवस्थालाई दर्शाउन समाजमा प्रतीकात्मक रूपमा उनीहरूलाई ‘भोकाहरू’को संज्ञा दिइन्थ्यो, जुन नाजायज थिएन ।

तर, कुनै पनि समाजमा यस्तो विभेद सधैंभरि चलिरहन सक्ने कुरा थिएन । त्यहा“ पनि चलेन । पेटमा भोकका ज्वाला दन्कन थालेपछि भोकाहरू विकल्प खोज्न बाध्य भए । उनीहरूले आफ्नो खान पाउने न्यूनतम अधिकार रक्षाका लागि शासकहरूविरुद्ध सङ्घर्ष गर्ने निधो गरे । तर, त्यसका लागि संगठन र अगुवाहरूको आवश्यकता पथ्र्यो । त्यसको पनि व्यवस्था भयो । आफूहरूमध्येकै केही व्यक्तिहरूलाई उनीहरूले अगुवा चुने ।

अगुवाहरूको काम राज्यका सम्पूर्ण भोकाहरूलाई संगठित गर्नु र अजीर्ण शासकहरूविरुद्ध सङ्घर्ष छेड्नु थियो । सो कामका लागि खटिनुपर्दा अगुवाहरूले आफ्नो दैनिक काममा ध्यान दिन सक्दैनथे त्यसैले आफ्नो भविष्यको सुन्दर कल्पनामा अगुवाहरूको कामको थप भार पनि बा“की भोकाहरूले नै आफूमा लिए ।

समयक्रमसँगै संगठन बलियो हुँदै गयो । सबै भोकाहरू आफ्नो अधिकार प्राप्त गर्नका लागि अगुवाहरूको नेतृत्वमा सङ्गठित हुँदै गए । र एक दिन, धनी शासकहरूलाई पराजित गरेर भोकाहरूले पूरै राज्यसत्तामाथि नै आफ्नो शक्ति स्थापित पनि गरिछाडे । सत्ताको सम्पूर्ण बागडोर आफ्नो हातमा आएपछि अब त्यसलाई समूचित ढङ्गबाट परिचालित गर्नुपर्ने अर्को ठूलो दायित्व उनीहरूमा थियो ।

त्यसका लागि फेरि एउटा कुशल नेतृत्व जरुरी हुन्थ्यो । विगतमा सङ्घर्षलाई सफल बनाउन नेतृत्वको अहम् भूमिका खेल्ने अगुवाहरूलाई नै यसका लागि पनि सबैले उपयुक्त ठाने र त्यो जिम्मा उनीहरूलाई नै सुम्पिदिए । आफ्ना अगुवाहरूप्रति उनीहरूको अगाध विश्वास थियो । त्यसैले यो जिम्मेवारी उनीहरूलाई सुम्पिएर भोकाहरू आफ्नो पुरानै जिम्मेवारीमा फर्किए ।

राज्य सत्ता भोकाहरूको हातमा आयो । भोकाका प्रतिनिधि अर्थात् अगुवाहरू नै त्यसका हर्ताकर्ता पनि बने । तर, दुर्भाग्य यतिबेलासम्म ती अगुवाहरूमा आफूलाई अरूभन्दा विशिष्ट ठान्ने प्रवृत्तिको विकास भइसकेको थियो । किनभने अन्य भोकाहरूसरह उनीहरूले श्रम गर्न छाडिसकेका थिए । अब सत्ताको भान्सामा उनीहरू थिए र स्वयं निकै भोका पनि । भोकाले खाने कुरा भेट्यो भने कसरी खान्छ त्यो त विज्ञ पाठकहरूलाई थाहा नै छ । उनीहरूले पनि त्यही गरे । बा“की भोकाहरू फेरि पनि भोकै परे । यस्तो अवस्थामा बाँकी भोकाहरूको असन्तुष्टि बढ्नु स्वाभाविकै थियो । उनीहरू पुनः सङ्घर्षको मैदानमा उत्रिए ।

भनिन्छ– त्यही समयदेखि नै भोकाहरूका नाममा भोकाहरूले सङ्गठन गर्ने प्रचलनको सुरुआत भएको हो, जुन अद्यँपि कायम छ ।

jackson ribon