विराटनगर । रातको सिफ्टमा काम गर्ने मानिसलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुनसक्छ । सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार रातको सिफ्टमा काम गर्ने टाइप २ मधुमेह रोगीले दिनको समयमा काम गर्ने वा काम नै गर्ने मानिसको तुलनामा रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न बढी गाह्रो हुन्छ ।
एन्डोक्राइन समाजअनुसार, रातको सिफ्टमा काम गर्ने मानिसमा मधुमेहका साथै तौल बढ्ने समस्या, अत्यधिक क्यालोरी सेवन, निन्द्रामा समस्या हुने गर्छ । रातको समयमा काम गर्नुपर्ने हँुदा वा ब्युँझिरहनुपर्ने हुँदा राति पनि खानुपर्ने हुन्छ ।
तर, रातको समयमा खानाले शरीरको प्रणालीमा गडबडी हुन सक्छ र रगतमा चिनीको स्तर नियन्त्रण गर्न गाह्रो हुन्छ । रातको सिफ्टमा काम गर्ने मात्र नभइ हप्तामा धेरै काम गर्नेमा पनि रगतमा चिनीको मात्रा नियन्त्रण नहुने देखिएको छ ।
बीएमजे डायबिटीज रिसर्च एण्ड केयरमा गरिएको अध्ययनले हप्तामा हप्ताको ३५ देखि ४० घण्टा काम गर्ने महिलाको तुलनामा ४५ घण्टाभन्दा बढी काम गर्ने महिलामा मधुमेह हुने सम्भावना ५१ प्रतिशत बढी हुने जनाएको छ ।
तर हप्तामा धेरै घण्टा काम गर्ने पुरुषमा, कम काम गर्ने पुरुषको तुलनामा मधुमेह हुने खतरा कम देखिएको थियो । काम गर्ने समयमा मधुमेह रोगीले चिनीको मात्रा नियन्त्रण गर्नेका लागि सक्रिय रहने, आफ्नो औषधि समयमा खाने, बाहिरको भन्दा पनि घरकै खाना प्याक गरेर लाने, एकैपटक धेरै खानुभन्दा पनि थोरै–थोरै मात्रामा पटक–पटक खानुका साथै प्रशस्त मात्रामा पानी पिउन ध्यान दिनुपर्छ ।