विराटनगर / बुधबार करिब तीन मिनेट बसेर प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको बैठक अनिश्चतकालका लागि स्थगित भयो । बैठक स्थगित भएपछि प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल लम्बिएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार हिउँदे अधिवेशनका लागि बिजनेशको रूपमा अविश्वासको प्रस्ताव मात्रै दर्ता भएको छ । प्रदेश सरकारले कुनै विधेयक दर्ता गराएको छैन । छलफलका लागि प्रदेशसभामा अविश्वासको प्रस्तावबाहेक अन्य प्रस्तावहरू छैनन् ।
मन्त्रालयहरूले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विधेयक अगाडि बढाउने सन्दर्भमा स्वीकृति लिएका छैनन् । प्रदेश सरकारका कानून सचिव भरतमणि रिजालका अनुसार मन्त्रालयहरूबाट नयाँ विधेयक आएको छैन ।
बुधबार प्रदेशसभाको सातौं अधिवेशन आरम्भ हुनुअघि बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि संसदमा विधेयकहरू नभएको र बिजनेश अभावमा संसद् सञ्चालन गर्न कठिन हुने विषय उठेको थियो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संसद्लाई बिजनेस अभाव नहुने बताएका थिए ।
प्रदेशसभाको छैठौं अधिवेशनबाट प्रदेश प्रहरीसम्बन्धी विधेयक, प्रदेश सार्वजनिक सडकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐनको संशोधन विधेयक, प्रदेश आर्थिक विधेयक, प्रदेश विनियोजन विधेयक पारित भएको थियो ।