विराटनगर । स्पेनिस कोपा डेल रेमा सर्वाधिक धेरै पटकको विजेता बार्सिलोनाले अन्तिम १६ को यात्रा तय गरेको छ ।
बिहीबार राति भएको अन्तिम ३२ को खेलमा तेस्रो डिभिजन क्लब कोर्नेलाविरुद्ध २–० गोलको जित निकाल्दै बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो ।
कोर्नेलाको मैदानमा खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयभित्र दुई पटक पेनाल्टी पाए पनि बार्सिलोनाले गोल गर्न सकेन ।
खेलकाे ३९औं मिनेटमा मिरालेम पियानिकले हानेकाे पेनाल्टी मिस भएकाे थियाे ।
यस्तै ८०औं मिनेटमा ओस्मान डेम्बेलेले पेनाल्टी मिस गरेका थिए ।
निर्धारित समय बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा बार्सिलोनाले दुई गोल गरेको हो । खेलको ९२औं मिनेटमा डेम्बेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

११८औं मिनेटमा कोर्नेला दस खेलाडीमा सीमित बन्यो । अल्बर्ट मानेल स्टेल्लेस फर्नान्डेसले रातो कार्ड पाएका थिए ।
अरितरिक्त समयको अन्त्यमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।
बार्सिलोना कोपा डेल रेमा सर्वाधिक सफल टोली हो । उसले ३० पटक उपाधि उचालिसकेको छ ।
गए राति नै भएको अर्को खेलमा एथ्लेटिक क्लबले इबिजामाथि २–१ गोलको जित निकाल्यो ।