विराटनगर । विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालले नेपालमै पहिलोपल्ट मल्टिप्लेक्स पिसिआर मेसिन जडान गरेको छ । कलेजले एक औपचारिक कार्यक्रम गरी मेसिन र प्रयोगशालाको बिहीबार उद्घाटन गरेको हो ।
मेडिकल कलेजले आज प्रयोगशालामा जडान गरी सञ्चालनमा ल्याएको मेसिन अमेरिकी कम्पनी बायोफारको उत्पादन हो र यो अमेरिकी फुड एण्ड डर्गस एडमिनिस्ट्रेसन (एफडीए) बाट मान्यताप्राप्त मेसिनसमेत हो ।
यो मेसिनको सहायताले एक घण्टाभित्र कुनै पनि रोगको ३० वटासम्म ‘कजेटिभ एजेन्ट’ (रोग सङ्क्रमण गराउन सक्ने सम्भावित कारण) पत्ता लगाउन सक्छ । मेसिनबारे जानकारी दिँदै विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालका माइक्रोबाइयोलोजिस्ट रन्धीरकुमार सिंहले भने, ‘इन्फ्लुएन्जा र कोरोनाको लक्षण एकै प्रकारको हुने हुँदा ‘क्लिनिकल कन्फुज्यन’ हुने गर्छ तर यो मेसिनको प्रयोगले कुन रोग लागेको हो पत्ता लगाउन सहज हुन्छ ।’
मल्टिप्लेक्स पिसिआर मेसिनबाहेक कलेजले आफ्नो प्रयोगशालामा ‘भाइटेक–२ कमप्याक्ट फूल्ली अटोमेटेट एन्टीबायोटिक आइडी मेसिन’ पनि आजबाट सञ्चालनमा ल्याएको छ ।
आइडी मेसिनले २४ घण्टाभित्र जुनसुकै एरोबिक, एनएरोबिक र फङ्गसको परिचय दिने भएकाले बिरामीलाई त्यहीँअनुसारको एन्टीबायोटिक र एन्टीफङ्गल ड्रग दिन सजिलो हुन्छ । यो मेसिनले सङ्क्रमितमा भएको सङ्क्रमणको कारण पत्ता लगाउन छिटो र सहज हुने भएकाले बिरामी र चिकित्सक दुवैको समयको बचत गर्दै उपचारमा सहज हुने माइक्रोबायोलोजिस्ट सिंह बताउँछन् ।
मानिसलाई एउटै रोग ब्याक्टेरिया, भाइरस वा फङ्गसलगायतको सङ्क्रमणको कारण हुन भएकाले यस मेसिनमा विभिन्न प्रकारको छुट्टाछुट्टै टेस्ट नगरी सीधै एउटै नमूना (स्याम्पल) लिएर एकै समयमा टेस्ट गरेर रोगको पत्ता लगाउन सकिन्छ ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका कन्सलट्यान्ट फिजिसियन एवम् पुलमुनोलोजिष्ट डा. पुरु कोइरालाका अनुसार आइसियूमा भर्ना हुने अधिकांश बिरामीहरूमा निमोनिया, टिबी र फङ्गल इन्फेक्सनलगायत सरुवा रोग देखिने र रोग कुन किटाणुले गर्दा लागेको भन्ने पत्ता लगाउन निकै गाह्रो हुन्छ । ‘त्यसैले गर्दा बिरामीहरूको धेरैखाले परीक्षण गर्नुपर्थयो,’ डा.कोइरालाले भने, ‘तर अब मल्टिप्लेक्स मेसिनले सङ्क्रमणको स्रोत छिट्टै पत्ता लगाउन सहयोग गर्ने भएकाले बिरामीलाई आवश्यक पर्ने औषधि र सोहीअनुसारको उपचार गर्ने धेरै सहज हुनेछ ।’
रिपोर्ट छिटो आउने भएकाले अस्पतालमा बिरामीको बसाइ र आर्थिक भार पनि कम हुने डा. कोइराला बताउँछन् । साथै, मेसिन र प्रयोगशालाको प्रयोगले आगामी हप्तादेखि नै अस्पतालको व्यवस्थापनमा सकारात्मक र व्यापक सुधार आउने विश्वास उनले व्यक्त गरेका छन् ।