विराटनगर/कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् ।
गतवर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदै छ । यही क्रममा आरोहण गुरुकुल विराटनगरमा माघ ९ गते शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ ।
सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक दुई वर्षअघि पनि मञ्चन गरिएको थियो । नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् ।
सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर खोल्ने निर्णयमा पुगिएको आरोहण, विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । ‘माघ ५ गतेदेखि नै नाटकघर खुला भएको विज्ञप्तिमार्फत् जानकारी गराएका थियौँ’, अध्यक्ष क्षेत्रीले भने, ‘नाटकसमेत मञ्चन गरेर विधिवत रुपमै नाटकघर सबैका लागि खुला भएको घोषणा गरेका हौँ ।’
लकडाउन अन्त्य भएको लामो समयपछि मात्र नाटकघरहरु खुल्न थालेका हुन् । देशभरका नाटकघरहरु श्रृङ्खलाबद्ध रुपमा खोल्ने योजनाअनुसार माघ १ गतेदेखि काठमाडौँलगायत अन्य स्थानका नाटकघरहरु खुल्न थालिसकेका छन् । विगत १० महिनाभन्दा बढी समयदेखि ठप्प रहेको रङ्गमञ्च क्षेत्र खुला भएसँगै जोखिम कम गर्दै नियमित रुपमा नाटक मञ्चन गर्ने तयारीमा रङ्गकर्मीहरु लागेका छन् ।