काठमाडौं । पूर्व–प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्व–प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २९ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताए ।
कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गर्दै पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रूपमा फुट्नेगरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजनसम्बन्धी विवादको निरुपण गर्न नै अयोगलाई कम्तिमा ६० दिन लाग्ने बताए ।
निर्वाचनसम्बन्धी अरू प्रक्रिया टुङ्ग्याउन पनि महिनौँ लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरामा पत्याउन नसकिने उनको भनाइ छ ।