birat ribon

नेकपा विभाजनको असर प्रदेशसभामा : दलका नेताले बोल्न पाएनन्, पत्र वाचनपछि बैठक स्थगित

Neuro
नेकपा विभाजनको असर प्रदेशसभामा : दलका नेताले बोल्न पाएनन्, पत्र वाचनपछि बैठक स्थगित

विराटनगर/बुधबार बिहानसम्म प्रदेश १ को हिउँदे अधिवेशनमा सत्तारुढ नेकपाका सांसद एकअर्कालाई अवरोध गर्ने रणनीतिमा थिए ।

Padelux insider
cura insider

निलम्बन गरिएका १६ जना सांसदलाई ओली पक्षले बैठक कक्षमा प्रवेश नदिने योजनामा थिए । प्रचण्ड–माधव पक्षको योजना मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतमा बोल्न नदिने तयारीमा थिए ।

आफूहरुलाई अवरोध हुनसक्ने भएपछि नेकपा प्रचण्ड–माधव समूहमा सांसद एकैपटक प्रदेशसभामा प्रवेश गरे । बैठकअघि नेकपाका प्रदेशसभा सदस्य तीनपैनी चोकस्थित पार्टी कार्यालयमा थिए ।

बैठक कक्षमा प्रवेश गर्नुअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । बैठकमा दुवै समूह आ–आफ्नो अडान राखे ।

बुधबार बैठकमा अवरोध भए संवैधानिक प्रश्न उठ्ने देखिएपछि सभामुख भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त पत्र वाचन गर्ने र अनिश्चितकालका लागि बैठक स्थगित गर्ने बताए ।

छ महिनाभित्र अनिवार्य रुपमा अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था भएका कारण दुवै समूह प्रदेश प्रमुखको पत्र वाचन गरेर बैठक स्थगित गर्न तयार भयो । सो निर्णयपछि प्रचण्ड–माधव समूहका नेता प्रदेशसभामा प्रवेश गरे ।

सभामुख बैठक कक्षमा प्रवेश गरेको करिब तीन मिनेट बित्न नपाउँदै बैठक स्थगित भयो । सभामुखको प्रवेशपछि राष्ट्रियगान बज्यो । लगत्तै सभामुखले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र वाचन गरेर अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

सामान्तया अधिवेशनको सुरुवात र अन्त्यमा दलका नेताले सम्बोधन गर्ने परम्परा छ । तर बुधबार परम्परा तोडिएको छ । सभामुखले अर्काे बैठक बोलाएपछि मात्रै दलका नेताको सम्बोधन हुनेछ । त्यसपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढ्नेछ ।

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले निलम्बनमा परेका सांसदलाई प्रवेश गर्न नपाउने आफ्नो अडान कायम नै रहेको बताए ।

बैठक सञ्चालन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बुधबार कुनै कार्यसूची नबनाइएको उनले बताए । उनका अनुसार दोस्रो बैठक सभामुखले एक सातापछि तोक्ने सम्भावना छ ।

नेकपा प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले पनि सभामुखले बैठकको मिति तोक्ने बताए । अब बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने उनले बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ११ माघमा विवाह गर्दैछन् । विवाहको केही दिनपछि बैठक आह्वान गर्ने सम्भावना छ ।

jackson ribon