birat ribon

सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Neuro
सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचामा जङ्गली हात्तीको आक्रमणबाट मङ्गलबार एक महिलाको मृत्यु भएको छ । जङ्गलमा घाँस काट्दै गरेका बेला हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–१० की २८ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।

Padelux insider
cura insider

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालकाअनुसार पराजुलीलाई बिहान ९ बजेतिर हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएकी उनको दिउँसो १ः३० बजेतिर मृत्यु भएको जानकारी ढकालले दिए ।

छरछिमेकी र गाउँलेसँगै सीता पनि घाँस काट्न गएका बेला लोहोन्द्रा साझेदारी वनमा घटना भएको स्थानीय चूडामणि नेपालले बताए । हात्तीले आक्रमण गरेको र साथीलाई हात्तीले आक्रमण गरेको चाल पाएपछि सँगै घाँस काटिरहेकी मीरा बोगटीले भने भागेर ज्यान बचाएकी थिइन् । घटनापछि हात्ती दुई–तीन पटक कराएर पश्चिमको जङ्गलतर्फ लागेको नेपालले बताए ।

घटना भएका बेला जङ्गलमा नजिकैको दृश्य पनि नदेखिने गरी बाक्लो हुस्सु लागेको थियो । हुस्सुकै कारण नजिकै आउँदा पनि नदेख्दा जम्काभेट भएपछि हात्तीले सीतालाई आक्रमण गरेको हुनसक्ने स्थानीयको भनाइ छ ।

घटनास्थलमा सीताले काटेको एक मुट्ठी घाँस, उनले लगाएका चप्पल र एउटा गाम्छा पनि भेटिएको छ । घटनास्थल वरपर हात्तीका धेरै पाइला भेटिएका कारण हात्ती ठूलै समूहमै रहेको प्रहरीको अनुमान छ । दुई साताअघिदेखिनै जङ्गल आसपास र गाउँनजिक चार–पाँच वटाको समूहमा जङ्गली हात्ती देखा परिरहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

वडा अध्यक्ष राजेन्द्रबहादुर थापा ‘राजेश’काअनुसार दुई साताअघिदेखि नै जङ्गल आसपासमा हात्तीको गतिविधि बढिरहेको पाइएको थियो । त्यही भएर सबैलाई सावधानी अपनाएर सुरक्षित रहन आग्रह गरिएको भए पनि अहिले भने मावनीय क्षति नै गराएको उनको भनाइ छ ।

थापाकाअनुसार समूहमा रहेका हात्ती दिनभर जङ्गलतिर बस्ने र रात परेपछि गाउँतिर छिर्ने गरिरहेका छन् । जङ्गलमा अभाव भएकाले खानेकुरा खोज्दै गाउँतिर छिर्ने गरेको हुनसक्ने उनले बताए ।

सुन्दरहरैँचा नगरपालिकाको कार्यापालिका सदस्य भक्तकिरण राईले जङ्गली हात्तीले गाउँ छिरेर सर्वसाधारणलाई त्रसित बनाउने र लगाएका अन्नबाली खाएर सखाप बनाइदिने तथा घरहरू भत्काइदिएर उपद्रो मच्चाउने काम गरिरहेको बताए ।

उनकाअनुसार यो समस्या वर्षौदेखिको पुरानै हो । राईले हात्ती नओस् भनेर जङ्गल वरपर नियमित रूपमा उज्यालो बनाइराख्न रातको समयमा बत्तीको व्यवस्था गर्ने र सर्वसाधारणमा सावधानी अपाउन आग्रह गर्ने गरिएको बताए ।

jackson ribon