birat ribon

मेस्सीलाई रेड कार्ड दिएका रेफ्री, जसले नेयमार र स्वारेजलाई पनि मैदानबाहिर पठाएका थिए

Neuro
मेस्सीलाई रेड कार्ड दिएका रेफ्री, जसले नेयमार र स्वारेजलाई पनि मैदानबाहिर पठाएका थिए

विराटनगर । बार्सिलोनाका स्टारहरूका लागि रेफ्री जेसस गिल मन्जानो खराब सावित हुँदै आएका छन् । आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई मैदानबाहिर पठाएका मन्जानोले त्यसअघि नेयमार र लुइस स्वारेजलाई पनि रातो कार्ड देखाएका थिए ।

Padelux insider
cura insider

स्पेनिस सुपर कपको फाइनल खेलमा अर्जेन्टिनी स्टार मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोना गए राति भएको सुपर कपको फाइनल खेलमा एथ्लेटिकसँग ३–२ गोलले पराजित भएको थियो ।

सेभिल्लास्थित स्टेडियो डि ला कार्टुजामा एथ्लेटिकलाई जिताउन ओस्कार डी मार्कोस, एसियर भिलालिब्रे र इनाकी विलिययम्सले समान एक–एक गोल गरे । बार्सिलोनाका एन्टोइन ग्रिजम्यानले दुई गोल गरे ।

खेलको अन्तिम मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टोलीका लागि खेल्नेक्रममा पहिलोपल्ट रातो कार्ड पाएका हुन् । मेस्सीको करिअरको भने यो चौथो रेड कार्ड हो ।

एथ्लेटिकका भिलालिब्रेलाई खेलमा लडाएका कारण रेफ्रीले भिएआरको सहायतामा रातो कार्ड दिँदै मैदानबाहिर पठाएका थिए । यी तिनै रेफ्री हुन्, जसले क्याप नोउमै छँदाको समयमा नेयमार र स्वारेजलाई पनि मैदानबाहिर निकालेका थिए ।

ब्राजिलियन स्टार नेयमारलाई २०१६–१७ को सिजनमा मन्जानोले नेयमारलाई रातो कार्ड दिएका थिए । ला लिगाअन्तर्गत मलागासँगको खेलमा डिएगो लोरेन्टेमाथि खराब ट्याकल गरेपछि नेयमारले रातो कार्ड पाएका थिए ।

यसैगरी उनले उरुग्वेका स्टार स्वारेजलाई पनि सोही सिजनमा रातो कार्ड देखाएका थिए । कोपा डेल रेअन्तर्गत बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको खेलमा स्वारेजलाई रातो कार्ड देखाएपछि मन्जानोको आलोचना पनि भएको थियो । धेरैले उनको निर्णय विवादास्पद भनेका थिए ।

खेलको ८६औं मिनेटमा जुआनफ्रान टोरेसमाथि फाउल गररेपछि स्वारेजलाई पहिलोपल्ट उनले पहेँलो कार्ड देखाएका थिए । त्यसको तीन मिनेटपछि कोकेको अनुहारमा हातले हानेका स्वारेजलाई मन्जानोले रातो कार्ड देखाएका थिए ।

jackson ribon