विराटनगर । ब्राउन सुगर (खैरो हेरोइन)सहित प्रहरीले मोरङको रतुवामाई नगरपालिका– ५ दुईजनालाई पक्राउ गरेको छ ।
आमबारीबाट सोमबार दिउँसो भारत अररीयाका २२ वर्षीय मोहम्मद नबाब आलम र रतुवामाई–२ झुर्कियाका ४४ वर्षीय मोहम्मद रफिक मियाँ पक्राउ परेका हुन् ।
पक्राउ परेकाको साथबाट एक सय २६ ग्राम १४ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरलिे जनाएको छ ।
विशेष सुराकीका आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
दुवै जना ब्राउन सुगरको कारोबारी भएको र भारतबाट नेपाल भित्राएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनीहरुको संलग्नता रहेको सूचना यसअघि नै प्रहरीमा आइपुगेको थियो ।
पक्राउ परेको समयमा दुवै जना भारतीय नम्बर प्लेटको बीआर ३७ यू ५८२३ नम्बरको मोटरसाइकलमा थिए । भारतीय युवक मोटरसाइकल चालक हुन् ।
भारतीय युवकको साथबाट एक सय १३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । त्यसपछि झुर्कियास्थित रफिकको घरमा प्रहरी छापा मारिएको थियो । घर खानतलासी गर्दा १२ ग्राम ९८ मिलिग्राम फेला परेको एसपी खड्काले बताए ।
पक्राउ परेकाहरुले भारतबाट भित्राएर पूर्वका उर्लाबारी, दमक, इटहरी, धरान लगायतका शहरमा ब्राउन सुगर ‘सप्लाई’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।