birat ribon

अफिम बन्दै वर्गीय आन्दोलन

Neuro
अफिम बन्दै वर्गीय आन्दोलन

Padelux insider
cura insider
सनत सापकोटा

कम्युनिस्टहरू धर्मलाई ‘अफिम’ संज्ञा दिन्छन् । धर्मले नै समाजमा विभिन्नखाले विभेद निम्त्याएको उनीहरूको मान्यता छ । धर्म नै समाज विभाजनको कारण र शोषणको माध्यम बनेको उनीहरूको भनाइ छ । उनीहरू समाजमा भौतिक द्वन्द्व कायम रहने र वर्गीय आन्दोलनबाट नै यसको समाधान गर्न सकिने ठान्छन् । विद्यमान वर्गीय विभेदको अन्त्य नभएसम्म समाजमा द्वन्द्व कायमै रहने उनीहरूको विश्वास छ । सर्वहारा वर्गको उत्थान र उच्च वर्गको पतन नभएसम्म वर्गीय समानता कायम हुन नसक्ने उनीहरूको मत छ ।

सर्वहारा वर्गका नेता कार्ल–माक्र्सले धर्मका नाममा हुने गरेको शोषण र विभेदलाई ध्यानमा राख्दै कुनै बेला धर्मलाई अफिम हो भनेका थिए । उनका अनुयायीहरूले उनको यही भनाइलाई गुरुमन्त्र मानेर आज पनि धर्मलाई अफिमको रूपमा प्रचार गर्दै आएका छन् । यो विश्लेषणमा आंशिक सत्यता नभएको पनि होइन । सुरुमा धर्म समाज सञ्चालनको एउटा विधानका रूपमा निर्माण गरिएको भए पनि पछि यसले समाजमा जातीय विभेद, वर्गीय खाडल र लैङ्गिक असमानताजस्ता उँच–नीचहरू सिर्जना गरेको हो ।

धर्मका मठाधीशहरूले यसलाई आफूअनुकूल व्याख्या गर्दै गए र समाजमा कमजोरहरूमाथि निरन्तर शासन गर्दै आए । यसै कारण धर्म बदनाम हुँदै गयो । यसैलाई लक्षित गरेर सर्वहारावादीहरूले धर्मलाई तारो बनाएर आन्दोलन चलाए । धर्मको ठाउँमा उनीहरूले वर्गीय आन्दोलनलाई अगाडि सारे ।

पुरानो सामन्तवादी हैकम वामपन्थी नेताहरूमा नयाँ रूपमा प्रकट हुन थालेको छ । र, वर्गीय आन्दोलन धर्मकै अर्को रूप बन्न पुगेको छ । सर्वहारावादी आन्दोलनका अभियन्ताहरू नै आज यो आन्दोलनलाई अफिम बनाउन उद्यत छन् ।

तत्कालीन समयमा समाज सञ्चालनको महत्त्वपूर्ण कडी थियो धर्म । नियम, कानुन, संविधान नभएको त्यो वखतमा धर्म नै न्याय–सम्पादनको एउटा महत्त्वपूर्ण आधार थियो । सबै जना धर्ममा बाँधिएका थिए । धर्मकै कारण मानिस समाजमा अनियमित काम गर्न डराउँथे । धर्मकै कारण समाजमा सुव्यवस्था कायम थियो । के गर्न हुने र के गर्न नहुने जस्ता कुरा धर्मद्वारा निर्देशित थिए । दुखी, गरिब, असहायहरूका विपरीत धर्म थिएन । समाजमा नैतिक बन्धन कायम थिए । कुनै पनि किसिमको शोषण दमन र अत्याचार मान्य थिएन । तर समय–क्रममा धर्मका अपव्याख्याहरू सुरु हुँदै गए । यसलाई टाठाबाठा र शक्तिशालीहरूले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दै गए । शासकले धर्मको त्रास देखाएर आम सर्वसाधारणमाथि शासन गर्दै आए । धर्ममा देखिएका अपव्याख्याहरूले आम मानिसमा धर्मप्रति विकर्षण, वितृष्णा पैदा गर्ने अवस्था सिर्जना हुन थाल्यो । त्यसको ठाउँ क्रमशः वर्गीय आन्दोलनले लियो ।

समय–क्रममा धर्म आलोचित हुँदै गयो । वर्गीय आन्दोलनले लोकप्रियता कायम गर्दै गयो । समाजको ठूलो तप्का वर्गीय आन्दोलनप्रति आस्थारत देखिँदै गयो । कम्युनिस्टहरूले लोकप्रियता कायम गर्दै गए । धर्मकै कारण समाज विखण्डित छ भन्ने सर्वहारावादीहरूको विश्वास बलियो हुँदै गयो । फलतः कम्युनिस्टहरूको विश्व–बजारमा बलियो पकड स्थापित हुन पुग्यो । शोषित–पीडित जनताको ठूलो हिस्साले उनीहरूको आन्दोलनमा साथ दिए । उनीहरूले वर्गीय आन्दोलनलाई एकमात्र अचूक अस्त्रका रूपमा बुझे, बुझाए ।

तर वर्गीय आन्दोलन पनि आज आलोचनामुक्त हुन सकेको छैन । यसका पनि कैयौँ दोष देखिन थालेका छन् । वामपन्थीहरूले आर्जन गरेको विश्वव्यापी ख्याति आज उनीहरूकै व्यवहारका कारण धरापमा परेको छ । विश्वमा कम्युनिस्ट सत्ताहरू एकपछि अर्को गर्दै ढल्दै गएका छन् । कम्युनिस्ट आन्दोलनका मुख्य दुई धार रुसी सांस्कृतिक क्रान्ति र चिनियाँ समाजवादी क्रान्ति आज कुन अवस्थामा छन् भन्ने कुराले नै कम्युनिस्ट आन्दोलनको आजको अवस्थालाई छर्लङ्ग पार्छ । रुसी सांस्कृतिक क्रान्ति आज इतिहासको गौरवका रूपमा मात्र सीमित बन्न पुगेको छ भने चिनियाँ क्रान्तिको स्वरूप अन्ततः पुँजीवादी मोडलकै एक हिस्सा बन्न पुगेको छ । यी दुवै विश्वव्यापी आन्दोलनको प्रभाव विश्व–बजारमा अब छैन भन्दा फरक पर्दैन ।

यिनै दुई विश्व समाजवादी क्रान्तिबाट प्रभावित नेपालको कम्युनिस्ट आन्दोलन पनि विभिन्न आरोह–अवरोह पार गर्दै अगाडि बढेको हो । कहिले हिंसात्मक त कहिले शान्तिपूर्ण आन्दोलन छेड्दै अगाडि बढेको नेपाली कम्युनिस्ट आन्दोलनको आजको अवस्था भने सुखद छैन । मजदुर, किसान र सर्वहारा–श्रमिक वर्गका लागि थालिएको आन्दोलनबाट स्वयम् यही वर्ग सन्तुष्ट हुन सकेको छैन । उनीहरूकै साथ र सहयोगबाट उठेको आन्दोलनमा उनीहरूकै स्थान दयनीय छ । उनीहरूमाथि समाजमा हुने शोषण, दमन र अत्याचार रोकिएको छैन । श्रमजीवीको वर्गीय अवस्थामा अपेक्षित बदलाव आएको छैन । समय–क्रममा शोषणको तरिका फेरिएको होला तर शोषण रोकिएको छैन । अझ वर्गीय आन्दोलनका नाइकेहरूबाटै शोषित–पीडित बन्नुपर्दा सीमान्तकृत तप्का दोब्बर पीडा सहन बाध्य छ ।

मजदुर, किसान र सर्वहारा–श्रमिक वर्गका लागि थालिएको आन्दोलनबाट स्वयम् यही वर्ग सन्तुष्ट हुन सकेको छैन । उनीहरूकै साथ र सहयोगबाट उठेको आन्दोलनमा उनीहरूकै स्थान दयनीय छ ।

नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि आज कम्युनिस्टहरूको एकलौटी सत्ता छ । तर यो गणितीय रूपमा मात्र सीमित छ । कम्युनिस्टहरू आमजनताको आस्थाको केन्द्र बन्न सकेका छैनन् । जनसङ्ख्याको प्रमुख हिस्सा ओगटेको श्रमिक–मजदुर–किसान वर्ग नै यो आन्दोलनबाट सन्तुष्ट छैनन् । उनीहरूको अवस्थामा तात्विक अन्तर आउन सकेको छैन । उता कम्युनिस्ट नेताहरूको अवस्थामा आकाश–जमिनजस्तै फरक देखिएको छ । केन्द्रीय तहका वामपन्थी नेताहरूको जीवनस्तर र वर्गीय अवस्थाको कुरा छोडौँ जिल्ला तहका वामपन्थी नेताहरूको वर्गीय अवस्था हेर्ने हो भने पनि सबै कुरा छर्लङ्ग हुन्छ । मुलुकमा वामपन्थीहरूकै वर्चस्व कायम रहिरहेका बेला वर्गीय खाडल झन् गहिरो बन्दै गइरहेको छ । पुरानो सामन्तवादी हैकम वामपन्थी नेताहरूमा नयाँ रूपमा प्रकट हुन थालेको छ । र, वर्गीय आन्दोलन धर्मकै अर्को रूप बन्न पुगेको छ । सर्वहारावादी आन्दोलनका अभियन्ताहरू नै आज यो आन्दोलनलाई अफिम बनाउन उद्यत छन् ।

आज पनि समाजमा धर्मको प्रभाव कम छैन । धर्म भन्नाले विभिन्न कथित ‘भगवान्’हरूका नाममा विभाजित हिन्दू, मुस्लिम, बौद्ध, इसाइ आदि भनेर बुझ्नु गलत हुनेछ । विश्व ब्रह्माण्डमा चराचर जगत्को हितका लागि सुरु भएको विधान नै धर्म हो । यो मानिसको विवेकसँग गाँसिएको विषय हो । धर्मप्रति मानिसको अटुट आस्था रहन्छ । र, त्यो अपरिहार्य पनि छ । त्यसैगरी, भौतिक वस्तु पनि आज विश्व समुदायका लागि उत्तिकै आवश्यक छ । समाजमा भौतिक द्वन्द्वमात्र होइन आत्मिक द्वन्द्व पनि सँगसँगै बढिरहेको हुन्छ । समाजमा पदार्थको अस्तित्व भएजस्तै आत्मिक वा अध्यात्मिक शक्तिको पनि उत्तिकै स्थान छ, जसले मानिसको विवेक, आस्था र नियतसँग सरोकार राख्छ । यी दुवैको फ्युजनबाट नै समाज र विश्व समुदायलाई सही ढङ्गले अगाडि बढाउन सकिन्छ । अन्यथा वर्गीय आन्दोलन पनि धर्मझैँ अफिमकै रूपमा प्रचारित हुनेछ ।

jackson ribon