विराटनगर/फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्मा हुने समस्या कलेजोको कोशिकामा बढी मात्रामा बोसो उत्पन्न हुने स्थिति हो ।
शरीरमा बढी भएको बोसो कलेजोमा जम्मा हुँदै जान्छ र फ्याटी लिभरको समस्या हुन्छ । कलेजोमा पाँच प्रतिशत वा सोभन्दा कम मात्रामा बोसो जम्मा हुनु सामान्य हो । तर, शरीरमा चाहिनेभन्दा बढी बोसो जम्मा भएका यसले कलेजोको सानो–सानो कोषलाई बिगार गर्दै लान्छ । कलेजोमा बोसो लाग्दा कलेजोको कार्य तथा प्रक्रियामा अवरोध उत्पन्न हुन थाल्छ र कलेजोमा क्षति पुग्छ ।
रक्सीको सेवन कलेजोमा बोसो जम्ने समस्या उत्पन्न हुने मुख्य कारण हो । रक्सीले शरीरका अन्य भागमा भएको बोसोलाई समेत कलेजोतर्फ आउन आकर्षित गर्ने हुँदा रक्सी सेवन गर्ने ५० प्रतिशत वा सोभन्दा बढीमा फ्याटी लिभरको समस्या देखिने हुन्छ । मधुमेहको रोगीहरूमा सुगरको मात्रा बढी भएर बोसोको रूपमा जम्मा हुँदै जाने हुँदा मधुमेहका बिरामीमा पनि फ्याटी लिभरको समस्या देखिने अर्को मुख्य कारण हो ।
परिवारको कुनै सदस्यमा फ्याटी लिभर भएमा शरीरमा अत्यधिक बोसोको मात्रा भएमा वा मोटोपना, कोलेस्ट्रोल, ट्राइग्लिसेरटइडको मात्रा चाहिनेभन्दा बढी मात्रामा भएमा तथा शारीरिक गतिविधिको कमीका कारण पनि फ्याटी लिभर गराउन सक्छ । साथै ब्लड प्रेसर, टिबी, छारेरोगलगायतका तथा दुखाइ कम हुने औषधिका कारण पनि फ्याटी लिभर हुने सम्भावना रहन्छ ।
मानिस जन्मजात दुब्लो भएका कारण शरीरमा बोसोको मात्रा ठिक्क भए पनि जिनमा खराबीका कारण असन्तुलन भई बोसोको मात्रा नियन्त्रण हुन नसकी फ्याट बढी जम्मा हुने प्रक्रिया हुने कारण पनि फ्याटी लिभर हुने सम्भावना रहन्छ । फ्याटी लिभर भएमा सामान्यतः कुनै लक्षण नदेखाउन पनि सक्छ । अवस्था गम्भीर भएपछि मात्रै लक्षण देखिन थाल्छ । साथै, फ्याटी लिभर हुने सबैलाई कलेजो बिग्रने समस्या हुन्छ भन्ने हुँदैन ।
तौल, मधुमेह, कोलेस्ट्रोल, उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, रक्सी, रातो मासु, बोसो चिल्लोजन्य खानेकुरा, जङ्क फुड, फ्राइड तथा तेलमा तारेको खानेकुरा, कोकाकोला, फेन्टालगायतका कार्बोनेटेड पेयपदार्थको सेवन बन्द गरेर सागसब्जी तथा फलफूलमा जोड दिएर शारीरिक सक्रियता, व्यायाम गर्दा कलेजोमा बोसो जम्ने समस्यालाई रोक्न सकिन्छ । तर, कलेजोमा भएका बोसो नियन्त्रण नगर्दा बिस्तारै कलेजोमा सानो–सानो घाउ बन्दै कलेजो कडा (फाइब्रोसिस) र कलेजोमा दाग बन्दै जान्छ । फाइब्रोसिसको अवस्थामा समेत रोगलाई रोक्ने प्रयास नभएका सिरोसिस हुन्छ जुन कलेजो क्षति हुने अन्तिम अवस्था हो ।
कलेजोले काम गर्न छोडेपछि जन्डिस हुने, पेटमा पानी जम्ने, दिमागको प्रेसर बढ्ने, रिँगटा लाग्ने, अत्यधिक निद्रा लाग्ने, दिमागले राम्रो काम नगर्ने, आन्द्रा, खाना नली र रगतका नली फुल्ने, रक्तश्राव हुने, मुखबाट रगत आउने, दिसाबाट रगत आउने, हानिकारक पदार्थ रगतमा मिसिने मृगौला ड्यामेज हुने तथा बिरामीको मृत्युसमेत हुन सक्छ ।
कलेजो ड्यामेज भएर अन्तिम स्टेजसम्म पुग्दा समेत पनि कसैमा कुनै पनि लक्षण देखा नपर्न पनि सक्ने हुँदा जोखिम समूहकाले ६–६ महिनामा वा जोखिम नभएकाले समेत नियमित रुपमा कलेजोको जाँच गराउनु पर्छ ।