birat ribon

नेपालमै पहिलोपटक नयाँ प्रविधिबाट ‘अल इन्साइड’ एसिएल रिकन्सट्रक्सन सर्जरी विराटमा

Neuro
नेपालमै पहिलोपटक नयाँ प्रविधिबाट ‘अल इन्साइड’ एसिएल रिकन्सट्रक्सन सर्जरी विराटमा

विराटनगर/नेपालमै पहिलोपटक नयाँ प्रविधिबाट एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) रिकन्सट्रक्सनको सर्जरी भएको छ ।

cura insider

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका वरिष्ठ ट्रमा, स्पोर्ट्स र जोइन्ट रिप्लेसमेन्ट सर्जन डा. विभूतिनाथ मिश्रसहितको टोलीले पहिलोपटक १८ वर्षिया बिरामीको सफल ‘अल इन्साइड’ एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) रिकन्सट्रकसन गरेका हुन् । फुटबल खेल्ने क्रममा घुडाको नसा (एन्टेरियर क्रुसिएट लिगामेन्ट) को साथ साथै कुर्कुरे हड्डी पनि च्यात्तिएको बिरामीको शुक्रबार सफल शल्यक्रिया गरिएको थियो ।

वरिष्ठ सर्जन मिश्रका अनुसार बिरामीलाई हिँड्न गाह्रो हुने, दुखाइ हुने, हिँड्दा खुट्टाको सन्तुलन नमिल्ने, हिँड्न खोज्दा लड्नेलगायतका समस्या रहेको थियो । यो समस्या धेरैजसो फुटबल तथा अन्य खेलाडीहरूमा हुने गरेको पाइन्छ । एसिएल रिकन्सट्रक्सनको सर्जरी प्राय आर्थाेस्कोपी प्रविधिबाट गरिन्छ जसमा घुँडामा सानो प्वाल बनाएर दुरविनको प्रयोग गर्दै शल्यक्रियाका लागि उपकरणहरू घुसाएर समस्या पत्ता लगाई सोहीअनुसार उपचार गरिन्छ ।

शल्यक्रियाको क्रममा च्यातिएको कुर्करे हाडलाई सफा गर्नुका साथै च्यातिएको एन्टेरियर क्रुसिएट लिगामेन्ट नयाँ बनाइदिने गरिन्छ । बिरामीकै शरीरको नशाको प्रयोग गरेर नयाँ एन्टेरिएर क्रुसिएट लिगामेन्ट बनाइन्छ । दुरबिनबाट सानो प्वाल बनाई शल्यक्रिया गरिने हुँदा सङ्क्रमणको सम्भावना निकै कम र लामो समयसम्मको दुखाइबाट मुक्ति पाउनुका साथै बिरामीले चाँडै सामान्य जीवनशैली र आफ्नो काममा फर्कन सक्ने हुन्छ ।

नयाँ प्रविधिबाट नेपालमै पहिलो पटक

एसिएल रिकन्सट्रक्सन नेपालमा एक दशक पहिले सुरू भएको हो । र, आजसम्म वरिष्ठ सर्जन मिश्रसहित धेरै सर्जनहरूले देशभरमा धेरै शल्यक्रिया गरिसकेका छन् । तर, एसिएल रिकन्सट्रक्सन सर्जरी गर्ने पद्दतिहरू पनि धेरै छन् । उक्त शल्यक्रियामा विस्तारै प्राविधिक परिमार्जन (टेक्निकल मोडिफिकेसन) हुँदै धेरै प्रविधिको प्रयोग हुँदै आएको छ ।

हालसालै संसारमा आएको नयाँ र सबभन्दा उन्नत प्रविधिलाई ‘अल इन्साइड’ एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) रिपेयर भनिन्छ । यसमा बिरामीको शरीरको नशाको प्रयोग गरेर लिगामेन्ट बनाउने कारण शरीरभित्र धेरै उपकरण (स्क्रिउ) जडान गर्नु पर्ने हुँदैन । जसकारण अन्यको तुलनामा शल्यक्रियापछिको दुखाइ पनि कम पीडादायी हुन्छ । साथै, बिरामी छिटो निको हुन्छ र चाँडै नै आफ्नो खेलमा फर्कन सक्ने सम्भावना धेरै हुन्छ ।

यो अहिले प्रयोग हुँदै आएको सबैभन्दा एडभान्स्ड टेक्नोलोजी हो । अर्कोतर्फ यो शल्यक्रिया टेक्निकल रूपमा गाह्रो र यसका लागि आवश्यक हुने उपकरण निकै महँगो हुन्छ । यो नयाँ प्रविधिबाट हुने शल्यक्रिया भारतमा पनि केही ठाउँमा बाहेक अन्यमा सुरु भएको छैन । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ प्रविधबाट सुरु भएको उक्त शल्यक्रिया विराटनगरमा मात्र नभई नेपालमा समेत पहिलोपटक गरिएको हो । नेपालमा एसिएल रिकन्सट्रकसनको सर्जरी व्यापकरुपमा भइरहे पनि नयाँ प्रविधिबाट गरिएको शल्यक्रिया विराटमा नै पहिलो हो ।

महँगो भए पनि सर्वसाधारणको पहुँचमा

शल्यक्रियामा चाहिने र प्रयोग हुने उपकरणहरू एकदम महँगो हुन्छ । विराट मेडिकल कलेजमा रहेको सुविधासम्पन्न र उच्च प्रविधियुक्त शल्यक्रिया कक्षमा गरिने यस प्रकारको शल्यक्रिया सर्वसाधारणको पहुँचमा रहेको छ । अन्यतिर दुईदेखि तीन लाख पर्ने शल्यक्रियालाई अस्पतालमा एक देखि डेढ लाखमा गरिएको हो ।

यस प्रकारको शल्यक्रिया स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पनि गरिन्छ । तर, उक्त बिरामीको बिमा नभएका कारण शल्यक्रियाको शुल्क लाग्न गएको डा. मिश्रको भनाइ छ । प्रायः यसप्रकारको महँगो सर्जरी बिमामा समावेश गरिएको हुँदैन । तर, विराट शिक्षण अस्पतालमा शल्यक्रिया स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पनि गरिने हुँदा यस प्रकारको शल्यक्रिया महँगो भए पनि कम आयआर्जन भएका सर्वसाधारणको समेत पहुँचमा रहेको उनको भनाइ छ । अस्पतालमा घुँडा, कुम तथा गोलीगाँठोको शल्यक्रिया पनि आर्थाेस्कोपी प्रविधिबाट र बिमाअन्तर्गत नै हुँदै आएको छ ।

jackson ribon