birat ribon

कोसीटप्पु मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको त्रास

Neuro
कोसीटप्पु मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको त्रास

देवेन्द्र कार्की

सुनसरी/गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोसी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किएनन् । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही हात्तीको आक्रमणबाट ज्यान गयो । राति नै उनको हात्तीको आक्रमणबाट मृत्यु भएपछि विहान घरनजिक शव भेटियो ।

cura insider

एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए । त्यो पनि एउटै हात्तीको आक्रमणबाट । कोसीटप्पु वन्यजन्त आरक्षणको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिकाका अधिकांश गाउँ जङ्गली जनावरको आक्रमणको चपेटामा परेको छ । प्रमोद र मोतीलालजस्ताको दैनिकजसो मृत्यु हुने गरेको छ । आरक्षणबाट आएका जङ्गली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान स्थानीयवासीमा छैन ।

जङ्गली जनावरको आक्रमणबाट आजित भएर स्थानीयवासी आन्दोलन गर्छन् । राज्यले कुनै पहल नगर्दा उनीहरु त्यसै थाकेका छन् । आरक्षण प्रशासनले पनि कुनै सुनुवाइ अहिलेसम्म गरेको छैन ।

प्रमोद यादवको मकुना नामको हात्तीको आक्रमणमा परी मृत्यु भएपछि हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली मगाइएको थियो । उक्त टोलीले हात्तीमा बढेको हर्मोनका कारण यस्तो अराजक भएको निष्कर्ष निकालेको थियो । सोहीबमोजिम नै मकुनाको हर्मोन कम गर्ने सुई दिइएको थियो । मकुनाको उत्तेजना कम भएको स्थानीयले महसुस गर्दैगर्दा सोमबार त्यही हात्तीको आक्रमणबाट मोतीलालको मृत्यु भएपछि स्थानीयवासीमा पुनः त्रास फैलिएको छ ।

गत मङ्सिर २९ गतेको यस घटनापछि स्थानीय समाजसेवी पञ्चनारायण मण्डलको संयोजकत्वमा ३७ सदस्यीय जङ्गली जनावर पीडित सङ्घर्ष समिति बनाइएको छ । यहाँ आएको प्राविधिक टोलीसँग थप छलफल गरी सङ्घर्षका कार्यक्रम घोषणा गरिने संयोजक मण्डलले जानकारी दिए । अव पनि जङ्गली जनावरको आक्रमण रोक्न आरक्षणले कुनै पहलकदमी नगरे आरक्षण र स्थानीयवासीबीच ठूलो द्वन्द्व सिर्जना हुने उनको भनाइ छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावर र स्थानीयबीच दशकौँदेखि द्वन्द्व हुँदै आएको छ । स्थानीयले आरक्षण प्रशासनलाई पटक–पटक द्वन्द्व निरुपणका लागि विशेष ध्यान दिन सचेत गराए पनि आरक्षण प्रशासनले उनीहरुको कुरा सुनेको छैन ।

चार वर्षमा ५२ जनाको मृत्यु

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जङ्गली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरी जिल्लामा आठ जनाको मृत्यु हुनुका साथै सोही अवधिमा चौबीस जनाभन्दा बढी व्यक्ति घाइते भएको तथ्याङ्क छ । विसं २०७३ यतामात्र तीन जिल्लामा आरक्षणबाट निस्किएर आएका जङ्गली जनावरको आक्रमणबाट ५२ जनाको ज्यान गएको जङ्गली जनावर पीडित सङ्घर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताए ।

२२ जनाको त मकुना हात्तीको आक्रमणले मात्र ज्यान गएको उनले जानकारी दिए । उनका अनुसार कोसी गाउँपालिकाको वडा नंं ३, ५, ६, ७, ८ जङ्गली जनावरबाट पीडित छन् । यसैगरी उदयपुरको बेलका नगरपालिकाका, सप्तरीको सप्तकोसी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका केही वडाहरु मध्यवर्ती क्षेत्रमा पर्छन् । ती क्षेत्रका स्थानीयवासी वर्षौंदेखि हात्तीलगायतका जङ्गली जनावरबाट पीडित छन् ।

मण्डलका अनुसार कोसी गाउँपालिकामा मात्र ढेड वर्षको अवधिमा एक सय ५० जनाभन्दा बढी घाइते भएका छन् । करोडौँको वालीनाली क्षति भएको छ । उक्त सङ्घर्ष समितिको बैठक बसी प्रमुख जिल्ला अधिकारी र वार्डेनमार्फत् यहाँको धनजनको क्षति र समस्याबारे केन्द्रीय सरकारलाई ज्ञापनपत्र पठाउने काम भएको उनले जानकारी दिए । अब पनि आरक्षण स्थानीयवासीप्रति जिम्मेवार नभए सङ्घर्षका कडा कार्यक्रम सुरु गर्ने मण्डलले चेतावनी दिए ।

आरक्षण प्रशासनको लापारवाही

हात्ती आक्रमण रोक्न आरक्षण प्रशासनले कुनै ठोस कदम नचाल्दा मध्यवर्ती क्षेत्रवासी समस्यामा परेको कोसी गाउँपालिकाकाले जनाएको छ । उता पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि सर्वसाधारणलाई आतङ्कित बनाउने क्रम रोक्न आरक्षण प्रशासनले कुनै ठोस पहल गरेको छैन । त्यही भएर यहाँका स्थानीय आन्दोलित भएका छन् । स्थानीयवासीको सुरक्षाका लागि आरक्षण प्रशासन पनि जिम्मेवार हुनुपर्ने यहाँका स्थानीयको भनाइ छ ।

मानव बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतङ्कित बनाउने हात्ती कहाँ छ भनेर थाहा पाउने हात्तीको लोकेसन ट्रयाक गर्न २०७४ मङ्सिर १५ गते आरक्षणले रेडियोकलर जडान गरेको छ । उक्त रेडियोकलरको सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी दिने गरेको छ । तर मानवबस्तीमा पसेको जानकारी आरक्षणलाई थाहा हुँदासमेत बेवास्ता गर्दा मानिसको ज्यान जाने गरेको सो गाउँ पालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

यता मकुना हात्तीले उपद्रो गरेको र मानव बस्ती जानबाट रोक्नका लागि हात्तीको खुट्टामा चेन लगाइने उपायकाबारे विभागमा मङ्सिर ६ गते नै पत्र पठाएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिए ।

सानो क्षेत्र हुनु पनि समस्या

सुनसरी, सप्तरी र उदयपुर तीन जिल्ला गरी आरक्षण १७५ वर्ग किमी फैलिएको छ । यहाँ रहेका जङ्गली जनावरको सङ्ख्याअनुसार यो भूगोल अत्यन्तै न्यून हो । सानो क्षेत्रफलमा हात्ती, बदेल, अर्नालगायतका जङ्गली जनावरको सङ्ख्या ठूलो हुँदा ती जनावर मानवबस्ती प्रवेश गरेर उपद्रो गर्ने गरेको आरक्षणका वार्डेन चौधरी बताउँछन् । उनका अनुसार मकुना हात्ती विगत १० वर्षदेखि आरक्षणमा बस्दै आएको बेला आरक्षण बाहिर निस्किएर उपद्रो गर्ने गरेको छ । केही दिनदेखि मकुना ‘मतुवा’ भएर मानिसलाई आक्रमण गर्न थालेको उनको भनाइ छ ।

चरा र अर्नाको राजधानी

कोसीटप्पु वन्यजन्तु आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र मानिन्छ । विसं २०३२ मा स्थापना भएको आरक्ष सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको थियो । यो नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित छ । आरक्षमा विभिन्न पाँच सय ३१ प्रजातिका चरा, पाँच सय ४१ को सङ्ख्यामा दुर्लभ अर्ना र १२ वटा दुर्लभ डल्फीनसमेत पाइन्छन् । यहाँ बदेल, हरिण, मृग, हात्तीलगायतका जनावर रहेका छन् । कोसीटप्पु वन्यजन्तु आरक्षण चरा र अर्नाको राजधानीका रुपमा चिनिएको छ ।

राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइवेरियादेखि घुमन्ते चराहरू आवतजावत गर्ने गर्दछन् । यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ । अर्ना र चराहरुका लागि प्रसिद्ध मानिने कोसीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको तथ्याङ्क रहेको छ । तीमध्ये २१ हजार तीन सय ६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी तीन सय ८२ गरी कूल २१ हजार सात सय ९९ पर्यटकले आरक्षण अवलोकन गरेको आरक्षले जनाएको छ । रासस

jackson ribon