birat ribon

गोल्मेभीरको निसानी, लकलम्पा र नागछाँगाको कहानी

Neuro
गोल्मेभीरको निसानी, लकलम्पा र नागछाँगाको कहानी

हाल नयाँ स्थानीय संरचनाअनुसार भोजपुर जिल्लाको रामप्रसाद गाउँपालिका र साबिक अनुसार धोदलेखानी गाउँ विका समितिको होमतोक मेरो मावली गाउँ हो ।

कटुन्जेको नेपाल गाउँबाट हामी तल बेहेरे खोलातर्फ झर्‍यौँ । बेहेरे खोला गोल्मेभीर र नागछाँगाबाट उत्पति भएर होमतोक बेँसीलाई मलिलो सिँचाइ गर्दै पिखुवा खोलामा मिसिन्छ । यसका दुवै किनारमा धानखेती छ । सलल बगिरहेको कञ्चन पानीमा माछाहरू बेफिक्री खेलिरहेका देखिन्छन् ।

cura insider

हामीले खोलाको शीरदेखि पुछारसम्म सर्भेक्षण गर्‍यौँ । हावाको तापक्रम २१ डिग्री सेन्टिग्रेड र पानीको १८ डिग्री सेन्टिग्रेड थियो भने बेहेरे खोलाको उचाइ एक हजार दुई सय ८० मिटर रहेछ । त्यहाँ हामीले पाहा, भ्यागुता, छेपारा, सर्प खोज्यौँ र उकालो लाग्यौँ मावली गाउँ होमतोक, बैकुन्ठे पुग्न ।

आधा घन्टाको उकालोपछि सुन्तलाका बोटले घेरिएका घरहरू आइपुगे । ती नै मेरा मावली घरहरू हुन् । हरेक दसैँमा तिनै सुन्तलाघारीबाट सुन्तला टिपेर खाएको म सधैँ सम्झन्छु । विशाल पहाड गोल्मेभीरमुनि छ– त्यो सुन्दर गाउँ, मेरी आमाको जन्मस्थल ।

लकलम्पाको सिक्रे पाहा । बान्तवा भाषामा रुङ्मीपाङ्मी । वैज्ञानिक नाम पोलिपेडटस् म्याकुलेटस्

यसको आफ्नै प्रकारको पौराणिक कथा छ । सत्य युगमा गोल्मे राजा र गोल्मा रानीको विवाह भएर आउँदा–आउँदै कलियुग सुरु भइहालेको हुँदा यही भीरमा अलप भएका रे भन्ने किम्बदन्ती छ ।
भीरमा अनेक आकृतिहरू देखिन्छन् । ती आकृतिहरूमा सेतो र रातो ढुङ्गा वारिबाटै प्रष्ट देखिन्छ, जसलाई बेहुला–बेहुली (गोल्मे राजा–रानी) भन्ने चलन छ । पत्रे–चट्टान एकमाथि अर्काे खाप परेर बसेको छ, जसलाई गुन्टे ढुङ्गा वा बेहुला–बेहुलीको गुन्टे भरिया भनिन्छ । जन्तीहरू भने त्यहाँ आइ–नपुग्दै जन्ते ढुङ्गामा अलप भएका थिए भन्ने कथा छ ।

भीर हेर्दै अजङ्गको छ । त्यहाँ लर्तरो प्रयासले मानिस पुग्न सकिन्न । थुप्रै ओडार र गुफाहरू छन् । चट्टान भएको भागमा कुनै वनस्पति नभएको हुँदा सीधै उठेको अग्लो पर्खालझैँ देखिन्छ । तल गाउँकै छेउतिर भने जरुवा पानी र ससाना जङ्गल निकै छन् । यो गोल्मेभीर यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दु हो ।

म पहिले हिमालधन राईकहाँ पुगेँ अनि कान्छा–मामाको पुरानो घरमा पुगेँ । घरमा प्रायः कोही भेटिनुभएन । भेटिएकाहरूसँग पनि चिनजान गर्न गाह्रो थियो । तर रामप्रसाद दाइसँग कटुन्जेमै भेट भइहाल्यो । जेठा–मामाको घरमा पनि पुगेँ तर कोही रहेनछन् । माइला–मामाकोमा पुग्दा भने उहाँका छोराहरू, मेरा दौँतरी उत्तम दाइ, अमर भाइ र उहाँहरूका परिवार घरमै हुनुहुँदो रहेछ ।
माइला–मामा अर्थात् जम्दार–मामाको घर आमाहरूको मूलघर भएको हुँदा आमासँग आउँदा बस्ने घर त्यही थियो । त्यो चाहिँ अहिलेसम्म पनि उस्तै रहेछ । मावली भाउजू र छोरा–छोरीहरूसँग चिनाजानी भयो । उत्तम दाइ सानोमा मावल आउँदा मेरो खेल्ने साथी हुनुहुन्थ्यो । त्यसपछि अलिक पर घर बनाएर माइली माइजू र कान्छा भाइ बस्नुभएको रहेछ ।

परम्परागत अन्धविश्वासले गर्दा ती ठाउँहरूमा मानिसको चलखेल नहुने हुँदा उभयचर तथा सरीसृपहरू प्राकृतिक बासस्थानमा स्वतः संरक्षित भएको अनुपम उदाहरण त्यहाँ पाइने रहेछ ।

मलाई दशधारा दुध चुसाएर हुर्काउने आमाको जन्मथलो र बाल्यकाल बिताएको गाउँ धेरै समयपछि टेक्न आइपुग्दा कैयन पुराना स्मृतिहरू ताजा भए । यहीँको प्रेरणा लिँंदै विद्यावारिधि पूरा गरेर देखाउने र दूधको भारा पनि कटाउने मनमनै अठोट गरेँ ।

यस क्षेत्रको हर्पेटोलोजिकल सर्भेक्षण गरेको मुख्यस्थल भनेको नागछाँगा, लकलम्पा र बेहेरे खोला हो । नागछाँगा एक धार्मिकस्थल हो । यो छाँगा गोल्मेभीरको पश्चिमपट्टि र पामाखाम भन्ज्याङको पूर्वपट्टि माझमा अवस्थित छ । यहाँ लामो सुरुङे गुफा छ, त्यो गुफामा पहरा रसाएर चुन–पानी आउने गर्दा कालान्तरमा लामो–लामो सर्पका आकारहरू बनेका छन् । तिनै सर्पका आकृति बनेका ठाउँबाट दूधिलो थोपा तल ठुलो दहमा झर्ने गर्छ । यसलाई भगवानको दूध मान्ने चलन छ ।

छेउमै शिवलिङ्ग छ र त्यो दूधपानी श्रद्धालुहरूले ल्याई त्यहाँ चढाउने गर्छन् । असोजर–कात्तिकतिर त्यहाँ ठूलो मेला लाग्छ । नाग भनेको सर्प जाति हो र यो सरीसृप वर्गमा पर्छ । यसकारण पनि यस क्षेत्रमा नागको रूपमा सर्पको पूजा हुन्छ । तिब्बती हरेउ, रातोपुपुछ्रे हरेउ साथै अन्य सर्पहरू यसको सेरोफेरोमा पाइने कुरा अवलोकनबाट थाहा भयो ।

नागछाँगामा भेटिएको रातोपुपुछ्रे हरेउ । वैज्ञानिक नाम ट्राइमेरेसरुस इरिथ्रिस्

नागछाँगादेखि केही माथि अर्काे एउटा जलाधार–क्षेत्र छ । त्यो दुई हजार मिटर उचाइमा छ । भीरबाट निस्केका साना मूलहरू मिलेर झरना बनेको छ, जुन झरना एउटा ठुलो दहमा खस्छ । झारपात तथा वनस्पतिले बाक्लो गरी त्यसलाई ढाकेको हुन्छ । त्यसैले त्यहाँ प्रायः अँध्यारेै हुनेगर्छ । त्यहाँ मानिसहरू एक्लै जान डराउँछन् । त्यो दहलाई लकलम्पा भनिन्छ । स्थानीय राई बान्तवा भाषामा लकको अर्थ मनपाहा र लम्पाको अर्थ दह हुन्छ । लकलम्पाको अर्थ मनपाहा पाइने दह । यद्यपि सरसर्ती अवलोकन गर्दा यसको छेउछाउ चार प्रकारका पाहाहरू र बोट–बिरूवातिर सिक्रे पाहा पाइनेरहेछ ।

लकलम्पाबारे पनि अनेकौँ स्थानीय किम्बदन्तीहरू छन् । यसलाई भूतप्रेत लुक्ने ठाउँ भन्छन् । आज–भोलि पनि त्यता जान मानिसहरू चाहँदैनन् । परम्परागत अन्धविश्वासले गर्दा ती ठाउँहरूमा मानिसको चलखेल नहुने हुँदा उभयचर तथा सरीसृपहरू प्राकृतिक बासस्थानमा स्वतः संरक्षित भएको अनुपम उदाहरण त्यहाँ पाइने रहेछ ।

उत्तम दाइ, केदार दाइ र मैले दिनभर ती क्षेत्रको अवलोकन तथा सर्भेक्षण ग¥यौँं । नागछाँगा र लकलम्पाका नमुना भने सङ्कलन गरिएन । उत्तम दाइले सङ्कलन गर्दा धार्मिक दृष्टिले ठिक नहोला कि ? भन्नुभयो । मैले पनि स्थानीय व्यक्तिहरूको आस्थामाथि ठेस पु¥याउनु ठिक ठानिनँ । स्वस्थानीय रूपमै हरेक नमूनाको सरसर्ती टिपोट गरेर फोटोमात्र लिएँ ।

यसरी हर्पेटोलोजिकल सर्भेक्षण पूरा गरी साँझतिर होमतोक झ¥यौँ अनि उत्तम दाइसँग बिदा हुँदै कटुन्जेको नेपाल डाँडातिर निस्क्यिौँ ।

क्रमश:
मेरो अनुसन्धान यात्राबाट

jackson ribon