birat ribon

नयाँ पाठ्यक्रमको जीत

Neuro
नयाँ पाठ्यक्रमको जीत
पेशल आचार्य

गरिब देशमा सबै सूचकहरू गरिब हुँदा रै’छन् । अहिले नेपालका करिब–करिब औपचारिक जीवनका विविध घटना परिघटनाहरूलाई सूक्ष्म रूपले नियाल्दा त्यो कुरा छर्लङ्ग हुन आउँछ । यो पटक सरकारले शैक्षिक सत्र २०७७ देखि कक्षा १ र ११ मा लागू गरेको नयाँ पाठ्यक्रमका विरुद्धमा परेको पुरानो पाठ्यक्रमको मुद्दा यसै साता सर्वोच्च अदालतको फैसलाले नयाँ पाठ्यक्रम लागू गर्नै पर्नेतर्फ नयाँ बाटो खुलेको छ । जुन बेहद् खुसीको कुरा हो ।

Padelux insider
cura insider

हाँस उठ्दो कुरा त के छ भने कक्षा १ मा नयाँ शैक्षिक सत्र वैशाखदेखि र कक्षा ११ मा साउनदेखि सुरू हुन्छ । यतिका महिना बितिसक्दा पनि देशैभरि नयाँ पाठ्यक्रमअनुसारका पुस्तक पढाउने कि पुरानो पाठ्यक्रमअनुसारका पुस्तकहरू पढाउने भन्ने अन्योल थियो । आधाजसो विद्यालयहरूले नयाँ र आधाजसो विद्यालयहरूले पुरानो पाठ्यक्रमअनुसारका पुस्तकहरू पढाएका थिए । जो अब सदाकालका लागि हटेर गएको छ । अब सबैले नयाँ पाठ्यक्रमअनुसारका पुस्तकहरू पढाउनु पर्ने भएको छ ।

खासमा यो नयाँ र पुरानो पाठ्यक्रमको झन्झट बाहिरी परिदृश्यमा देखिएको जस्तो जुँगाको लडाइँ भए पनि यसको अन्तर्यमा भने सोभन्दा पृथक् कुरा लुकेको थियो । पुरानो पाठ्यक्रम लागू भइरहँदा सोअनुसार छापिएका अरबौं रूपैयाँका पाठ्य, सहयोगी र सन्दर्भ पुस्तकहरूको व्यापार अपार हुन जान्थ्यो जो अब अदालतको फैसलाले नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नु पर्ने स्थितिमा पुराना पुस्तक मुठ्याएर बसेका साहूहरूको व्यापार चौपट भएको छ भने नयाँ पुस्तक छापेर पसल थापेका तर आधाउधी मात्र किताब बिकेका बाँकी नबिकेका पुस्तकका साहूजीहरू अब यो फैसलाको कार्यान्वयनसँगै मालामाल हुने भएका छन् ।

यो पाठ्यक्रममा कतिले गणित शिक्षालाई अनिवार्यबाट हटाएर ऐच्छिक विषयमा राख्दा सोको विपक्षमा सम्बन्धित शिक्षकहरू रिट गएको पनि भनेर जोड्ने काम गरेका छन् । तर कुरोको चुरो भने गणित विषयसँग मात्र गाँसिएको छैन । यसले चौतर्फी रूपमा पुस्तक लेखक, प्रकाशक र व्यापारीहरूलाई प्रहार गरेको छ । खासमा संसारमा बजारको प्रकृति, विज्ञान/प्रविधिको विकास, समाजको चाहना र सामाजिक/राजनैतिक जीवनशैलीमा आएका परिवर्तनअनुसार नियमित रूपमा पाठ्यक्रमहरू परिवर्तन हुने गर्दछन् ।

पाठ्यक्रम परिवर्तनको यो चक्रलाई केही विकसित देशले हरेक दसकमा परिवर्तन गर्ने र अद्र्धदसक (पाँच वर्षमा) मा मध्यावधि मूल्याङ्कन गरी सुधारका लागि सुझाव दिएर विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् र पाठ्यक्रम निर्माता हुँदै पाठ्यक्रम परिषद्मा पुर्‍याउने गरिन्छ ।

नेपालमा चाहिँ यो चक्रलाई पालना होइन पूरै बेवास्ता गर्ने गरिएको पाइन्छ । पञ्चायतीकालसम्म नेपालमा ‘एक व्यक्ति एक पुस्तक’को अवधारणा रहिआएको थियो । भन्नाको तात्पर्य एउटा सम्बन्धित विषयको पूर्ण ज्ञाता वा विद्वान्ले सो विषयको पाठ्यपुस्तक लेख्ने जिम्मा पाउँथ्यो । सो जिम्माअन्तर्गत पुस्तक लेख्ने गर्दथ्यो र त्यसैअनुसारका पुस्तकहरू प्रकाशित भई लागू हुन्थे । त्यो बेलाका पुस्तकहरू पनि ज्यादै गहन, उपयुक्त, तह/विषय, क्षेत्र र सिकाइलाई ख्याल गरेर लेखिएका हुन्थे ।

उदाहरणका लागि २०४६ सालभन्दा अघिको कक्षा ९/१० को ‘महेन्द्रमाला’ प्रसिद्ध भाषाशास्त्री तथा विद्वान् लेखक डा.तारानाथ शर्माले लेखेका र सम्पादन गरेका थिए । नेपाली भाषाको माध्यमिक स्तरको पुस्तकहरूमा सो पुस्तकजतिको स्तरीय र गहन पुस्तकहरू अहिलेसम्म निस्किएका छैनन् भन्ने समीक्षा शिक्षा क्षेत्रमा लागेका पुराना शिक्षकहरू अझै गर्ने गर्दछन् । सायद् यस्तै पद्दति या स्तर अन्य क्षेत्र र विषयमा पनि लागू भएको हुन सक्छ ।

हेर्दा शिक्षाको गुणस्तर बिगारेर शैक्षिक बेरोजगारहरू उत्पादन गर्नमा नयाँ भनिएका शैलीका ‘धेरै व्यक्ति एक पुस्तक नीति’ अन्तर्गत चलाइएका पाठ्यक्रम र पाठ्यपुस्तहरूलाई नै दोष दिनेहरू पनि कम छैनन् ।

२०४६ सालमा पञ्चायतको अन्त्य भएर बहुदलकाल लागेपछि सबै नयाँ कुराहरू स्थापना गर्ने होडबाजी नै चल्यो– एक प्रकारको । त्यसैगरी शिक्षा क्षेत्रमा पनि स्थापित भएका मूल्य मान्यताहरूका विपक्षमा आफ्नो विचार, सिद्धान्त र शैली बेच्नका लागि लागिपरेका विभिन्न क्षेत्रका व्यक्तिहरूझैँ शिक्षा क्षेत्रका विद्वान्हरूले पनि नयाँ अवधारणा ल्याए– ‘धेरै व्यक्ति एक पुस्तक’भनेर । कतिपय सबालमा यो कुरा ठिक भए पनि धेरै लेखकले धेरै प्रकारका कुरा सँगाले । फलतः कहीँ नयाँ र असलखालको परिणाम ल्यायो भने कहीँ चटपटे ज्ञान र धारणाको जबर्जस्त स्थापना गर्ने प्रयत्नसमेत गर्‍यो ।

यही माहोलमै नेपाली भाषाको वर्ण विन्यासमा हठात् खेल्ने काम गरे कतिपय स्वनामधन्य विद्वान भनिएका लेखकहरूले समेत । आज त्यो विवादको अन्त्यसमेत भइसकेको छ । यो कुराको उदाहरणलाई मिहीनरूपले हामीले पुरानो कोर्सका त्रिभुवन विश्वविद्यालयका आइए, आइएड, आइकम, आइएल र आइएस्सीका कोर्सहरू र पछि उच्च माध्यमिक शिक्षा परिषद्बाट डिजाइन भएका कोर्सहरूलाई तुलना गर्दा सरक्कै थाहा पाउँछौं । हिजोका उत्पादित जनशक्ति र आजका उत्पादित जनशक्तिको समूल मूल्याङ्कन गर्दा यो स्थितिसमेत स्पष्ट देखिन्छ ।

भन्न त कसैकसैले विज्ञान, बजारशास्त्र, एकाउन्ट, बिजिनेस स्टडी र पेडोगाजीकल विषयमा नयाँ तरक्कीका साथ पढाइएको भन्लान् । यसमा आंशिक सत्यता पनि छ तर समग्रतामा हेर्दा शिक्षाको गुणस्तर बिगारेर शैक्षिक बेरोजगारहरू उत्पादन गर्नमा नयाँ भनिएका शैलीका ‘धेरै व्यक्ति एक पुस्तक नीति’ अन्तर्गत चलाइएका पाठ्यक्रम र पाठ्यपुस्तहरूलाई नै दोष दिनेहरू पनि कम छैनन् । यी दुवै पद्दतिका लेखनमा जहाँजहाँ ‘स्थापित नाम’ बेचिन्छ त्यहाँ विद्यार्थीलाई धोकाघडी पनि भएका हुन सक्छन् । खैर ! त्यो विवेचनाको अर्कै पाटो हो, अहिले त्यता नजाऊँ ।

हो, नयाँ नीति आएपछि नयाँ लेखक, सम्पादक, प्रकाशक र व्यापारीहरूले काम पाए । यसमा दुईमत छैन तर पुरानाको स्तरमा जे जति शाख थियो त्यति पनि नबत्र्याई लेखिएका र सम्पादन गरिएका पुस्तकले केवल शैक्षिक भीड उत्पादन गर्ने मेलोमात्र खडा गर्‍यो । पढेका भनेका तर केही नसिकेका युवाहरू देशमा काम नपाएर विदेसिन थाले अनि सुरू भयो वैदेसिक रोजगारी कहिरनका कथा–उपकथाहरू ।

देश कस्तो छ भनेर बुझ्नका लागि सो देशमा केकस्तो किसिमको पाठ्यक्रम लागू भएको छ र अध्यापन हुन्छ भनेर बुझ्दा मात्रै पनि हुन्छ भनेर भन्ने गर्छन् सम्बन्धित क्षेत्रका विशेषज्ञहरू । यहाँ त पाँच–दस वर्षमा हुने राजनीतिक परिवर्तनका सापेक्षताका लागि कोर्स चेन्ज हुने गर्छन् जसले न बजारको मागलाई धान्न सक्छ न जनताको जीवनशैलीलाई थेग्न सक्छ । यस्तो अवस्थाबाट हामी ‘न हाँसको चाल न कुखुराको चाल’मा पुग्न सक्छौँ ।

अहिले नेपाली जनजीवनलाई सुहाउँदो पाठ्यक्रम र विषयहरूको छनोट कक्षा ११ मा भएको पाइएको छ । त्यहाँ जीवनोपयोगी शिक्षा र सामाजिक अध्ययन जस्ता विषयहरूमा अहिलेका युवायुवतीहरूका लागि चाहिने र हुनेखालका सीपहरूको अपेक्षा गरेर ती दुई विषयहरूका पाठ्यक्रम र पाठ्यपुस्तक लेखिएका छन् जसले केही धेरै मात्रामा समयको मागलाई सम्बोधन गर्ने विश्वास सम्बन्धित क्षेत्रका विद्वान्हरूले लिएका छन् ।

देश कस्तो छ भनेर बुझ्नका लागि सो देशमा केकस्तो किसिमको पाठ्यक्रम लागू भएको छ र अध्यापन हुन्छ भनेर बुझ्दा मात्रै पनि हुन्छ भनेर भन्ने गर्छन् सम्बन्धित क्षेत्रका विशेषज्ञहरू ।

यस्तो परिस्थितिमा नयाँ र पुरानाको बीचमा गन्जागोलको स्थिति ल्याएर विवाद सिर्जना गरी सो विवादलाई मुद्दाको रूप दिई सम्मानित सर्वोच्च अदालतसम्म पुर्‍याएर सात–सात महिना लम्ब्याई ढिलो न्याय दिँदा पनि नयाँका पक्षमा जुन उदारता र साहसपूर्वक फैसला गरिएको छ त्यो लाखौँ किशोरकिशोरी, तिनीहरूका अभिभावक, शिक्षक र जनताका लागि लाभदायी सन्दर्भ भएको छ ।

नयाँ पाठ्यक्रमको जीत भएको छ त्यो खुसीको कुरा हो तर नयाँ पाठ्यक्रमको जीतसँगै पुरानालाई नै नयाँ जामा पहिर्‍याएर नयाँ भनाएर किताबका कलेबरमात्र फेरी कुरा पुरानै राखेर किताब बेच्ने टाइकुन प्रकाशक, माफियागिरीको चम्चा बनेर आत्मरतिमा रमाउने कथित सेलीब्रेटी लेखक र सो माध्यमबाट प्राप्त पुस्तकलाई थाहा नपाएको शैलीमा खुरूखुरू बेचेर अरबौँ र खरबौँ रूपैयाँ कुम्ल्याउने व्यापारीहरूका भने यो फैसलासँगै धड्नासो सुकेको छ ।

आशा छ, यस्तै–यस्तै प्रगतिशील फैसला अदालतले भटाभटी जाम भइरहेका रिटहरूमा गर्न सक्यो भने मात्र अदालतको गौरव क्रमशः वृद्धि हुँदै जाने छ । अहिलेलाई नयाँ पाठ्यक्रमको स्वागत् गर्नुमै सबैको श्रेयश्कर हित छ ।

jackson ribon