
केही दिनयता चिसो ह्वात्तै बढेको छ । चिसोमा बिरामी, दीर्घरोगी, वृद्ध अवस्थाकालाई मात्र नभएर स्वस्थ मानिसलाई समेत हृदयाघात (हर्ट अट्याक) को जोखिम रहन्छ ।
गर्मीको तुलनामा जाडो मौसममा मानिसलाई हर्ट अट्याकसँगै मुटुमा हुने विभिन्न रोगको जोखिम बढ्छ ।
चिसोले प्राकृतिक रुपमै रक्तनली र शरीरमा सिधा प्रभाव पार्छ जसकारण मुटुमा समस्या हुन सक्छ । जाडोमा हिँडडुल कम हुने, शारीरिक गतिविधि कम हुने र चिल्लो, बोसोयुक्त खानाको सेवन र खानपानमा ध्यान नदिएका कारण पनि रोग लाग्न सक्छ । साथै, जाडो महिनामा प्रेसर, कोलेस्ट्रोल, सुगरलगायतका दीर्घकालीन रोगहरू पनि बढ्ने हुन्छ । र, यस्ता रोगरू बढ्दै गएमा यसले मुटु, मृगौला र शरीरका अन्य अङ्गमा हानी पुर्याउन सक्छ ।
हर्ट अट्याक हुँदा मुटुको भाग मर्ने हुन्छ । र, एकपटक हर्ट अट्याक भइसकेपछि मरेको मुटुको भाग पुनः फर्काउन सकिँदैन ।
अनुपातमा हेर्दा गर्मी महिनामा भन्दा जाडो महिनामा मुटुको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या दुई गुणा बढ्छ । सामान्यतया गर्मीमा १० जना बिरामी अस्पताल आउँदा मुटुको समस्या लिएर आउने २–३ जना मात्र हुन्छन् आउँछन् । तर जाडोमा यो सङ्ख्या दुई गुणाले बढ्छ ।
जाडोमा देखापर्ने हर्ट अट्याकको समस्या एकदम घातक रोग हो । गम्भीर प्रवृतीको हर्ट अट्याक भएमा केही सेकेन्डमा नै मानिसको ज्यानसमेत जान सक्छ ।
हर्ट अट्याक हुँदा मुटुको भाग मर्ने हुन्छ । र, एकपटक हर्ट अट्याक भइसकेपछि मरेको मुटुको भाग पुनः फर्काउन सकिँदैन । ब्लक भएका मुटुको नसालाई खोल्नका औषधि उपचार, शल्यक्रियालगायतका विभिन्न प्रविधि छन् । तर, विभिन्न तरिकाले रक्तसञ्चार गराउन सकिए पनि मुटुलाई पुनः पहिलेकै जस्तो लयमा फर्काउन सकिँदैन । त्यसैले हर्ट अट्याक दोहोरिन नदिन मुटु बिग्रनुभन्दा अगाडि नै सचेत भएर सावधानीका उपाय अपनाउन जरुरी हुन्छ ।
जाडोमा दमको समस्या बढी देखा पर्छ । दमको समस्या पनि मुटु र फोक्सोको कारणले गर्दा हुने दुई प्रकारका हुन्छन् ।
हर्ट अट्याकको समस्या मुटुको दमको समस्या बढ्ने, रक्तचाप आदि कारणले हुने गरेको पाइन्छ । बिरामीमा छाती दुख्ने, छातीमा दबाब परेको वा भारी भएको जस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने, रिँगटा लाग्ने, थोरै दूरी हिँड्दा वा तलमाथि गर्दा चाँडै शरीर थाक्ने, खुट्टा सुन्निनेलगायतका लक्षण देखापर्न सक्छ ।
मुटु रोगको उपचार तथा रोकथामका लागि सबैभन्दा पहिला जीवनशैलीमा परिवर्तन ल्याउन जरूरी हुन्छ ।
प्रेसर, सुगर, कोलेस्ट्रोलका बिरामीबाहेक स्वस्थ मानिसलाई समेत मुटुरोगको जोखिम हुन्छ । शारीरिक गतिविधि कम गर्ने, खानपानमा ध्यान नदिने, अत्यधिक चुरोटको तथा रक्सीको सेवन गर्ने, धेरै तनाव लिनेलाई पनि मुटुको समस्या हुने सम्भावना अधिक हुन्छ । कामको तनाव, पारिवारिक तनाव वा अन्य केही कारणले उत्पन्न हुने तनावका कारण पनि मुटुरोग लाग्न सक्ने जोखिम धेरै हुने अध्ययनले समेत देखाइसकेको छ ।
मुटु रोगको उपचार तथा रोकथामका लागि सबैभन्दा पहिला जीवनशैलीमा परिवर्तन ल्याउन जरूरी हुन्छ । जाडोको मौससमा चिसोका कारण शारीरिक गतिविधि घटेर जान्छ जसकारण शरीरलाई सक्रिय राख्नका लागि निरन्तर व्यायाम गर्न आवश्यक हुन्छ । बिहान, दिउँसो वा बेलुका जुनसुकै बेला समय पाउनासाथ हिँड्ने वा योग गर्ने गर्नुपर्छ ।
गर्मीमा भन्दा जाडोमा खान रुच्ने र भोक बढी लाग्ने हुँदा खानपिनमा पनि विशेष ख्याल गर्नुपर्छ । चिल्लो तथा बोसोयुक्त खाना, रातो मासुको सेवन गर्नु हुँदैन । मासु खान मन लागे निकै कम मात्रामा फ्याट हुने कुखुरा, हाँसको वा माछाको सेवन गर्न सकिन्छ । प्रेसर, सुगर तथा कोलेस्ट्रोललगायतका स्वास्थ्य समस्या भएका बिरामीले समयमा चकित्सकको परामर्श लिएर नियन्त्रणमा राख्नु पर्ने हुन्छ । यी रोगबाट छुटकारा पाउन गाह्रो भए पनि यसले मुटुको रोग निम्त्याउन सक्ने हुँदा प्रेसर, सुगर तथा कोलेस्ट्रोलका बिरामीले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
चुरोट रक्सी त्याग्ने तथा जीवनशैलीमा ल्याएको परिवर्तनले लामो समयसम्म हर्ट अट्याक हुने जोखिमबाट बच्न सकिन्छ । कहिलेकाहीँ जीवनशैलीमा परिवर्तन ल्याएर मात्र नभई औषधिको समेत सेवन गर्नुपर्ने हुन्छ ।
प्रेसर भएकाले १४०–९० भन्दा कम, सुगर भएकाले खानुअगाडि १३० भन्दा कम र खाएपछि १८० भन्दा कम र कोलेस्ट्रोलका बिरामीले २०० भन्दा कमको टार्गेट राख्नुपर्ने हुन्छ ।
प्रेसर, सुगर तथा कोलेस्ट्रोललाई टार्गेटमा राख्नका लागि औषधिको सेवन गर्नुपर्ने, डोज बढाउनुपर्ने, खानपानमा ध्यान दिनुपर्ने वा तनाब व्यवस्थापन गर्नुपर्ने सबै चिकित्सकको निगरानीमा गर्नुपर्ने हुन्छ ।
तनाव कम गर्नका लागि योग तथा ध्यान गर्न सकिन्छ । प्रेसर, सुगर तथा कोलेस्ट्रोलका बिरामी तथा मुटुरोगको जोखिम हुनसक्ने व्यक्तिले चुरोट रक्सीको सेवन गर्नु नै हुँदैन ।
चुरोट रक्सी त्याग्ने तथा जीवनशैलीमा ल्याएको परिवर्तनले लामो समयसम्म हर्ट अट्याक हुने जोखिमबाट बच्न सकिन्छ । कहिलेकाहीँ जीवनशैलीमा परिवर्तन ल्याएर मात्र नभई औषधिको समेत सेवन गर्नुपर्ने हुन्छ । शरीरमा के कस्तो रोग छ यसका लागि सम्बन्धित डाक्टरको सल्लाहअनुसार उपचार गराइहाल्नु पर्छ ।
स्वास्थ्यमा देखिएको कुनै पनि समस्यालाई सामान्य सोचेर बेवास्ता गर्नु हुँदैन । मुटुको रोग लागेकाले मात्रै नभएर मुटु स्वस्थ हुनेले पनि भविष्यमा मुटु रोगको समस्या नआओस् भन्नका लागि ध्यान पुर्याउनुपर्छ ।
(विराटनगर अस्पतालका जनरल मेडिसिन विभागमा कार्यरत बरिष्ठ फिजिसियन डाक्टर झासँग कोसी अनलाइनका लागि अङ्किता ताम्रकारले गरेको कुराकानीमा आधारित)