विराटनगर/नेपाल चिकित्सक सङ्घ कोसीको नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ । मतदान प्रक्रिया सोमबारसम्म चल्नेछ । नयाँ नेतृत्वका लागि डाक्टर कैलाशकुमार श्रेष्ठ र डाक्टर फरवार्ड सिलवाल नेतृत्वको दुई प्यानल चुनावी मैदान छन् ।
आइतबार बिहानैबाट मतदान सुरु भएको श्रेष्ठ प्यानलबाट उपाध्यक्षको उम्मेद्वार डाक्टर बालकृष्ण साहले जानकारी दिए ।
निर्वाचनमा पार्टीगत पक्षबाट प्यानल बनेको छैन । फरक–फरक विचारधारा राख्ने चिकित्सकहरु दुवै समूहबाट चुनावी मैदानमा छन् ।
डाक्टर सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. नवीन कर्ण, उपाध्यक्षमा डा. यज्ञराज खरेल, महासचिवमा डा. राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा. सिलवन्त सेन श्रीवास्तव, सहसचिवमा डा. सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा. जुविन सिलवाल उम्मेदवार छन् । सदस्यहरुमा डा. अन्जु देव, डा. अमरकुमार यादव, डा. पार्थ गुरागाईं, डा. अमरेन्द्रकुमार महतो, डा. प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपाल मैदानमा छन् ।
डा. श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव ठाकुर, उपाध्यक्षमा डा. बालकृष्ण साह, महासचिबमा डा. रविनराज सिंह, सहसचिवमा डा. धीरज सिंह, कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा. सरवेसकुमार झा छन् । यस्तै सोही समूहदेखि सदस्यहरुमा डा. रोशन खड्का, डा. पल्बी झा, डा. अविशेष चौधरी, डा. दिपक न्यौपाने, डा. निशा अधिकारी र डा. राजेश्वर यादव छन् ।
चिकित्सक सङ्घ कोसीमा एक हजार दुई सय ६२ जना डाक्टर आवद्ध छन् । सुनसरीको धरानबाहेक कोसीका सबै चिकित्सकहरुले मतदानमा सहभागिता जनाउने छन् । धरानको बिपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक सङ्घ रहेको छ ।