विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष (आव)को ६ महीना अवधिमा तीन अर्ब ८८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
सो अवधिमा कार्यालयले तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व असुलीको लक्ष्य पाएकोमा कुल चार अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व असुली गरेको थियो । चालू आवमा राजस्वको अर्धवार्षिक लक्ष्य हासिल नहुनुको कारण अन्तःशुल्कमा कमी रहेको कार्यालय प्रमुख विमल सापकोटाले बताए ।
चालू आवमा सो अवधिमा संकलित राजस्वमा आयकर एक अर्ब ५३ करोड ८७ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर एक अर्ब १४ करोड १९ लाख ८९ हजार, अन्तःशुल्क एक अर्ब २० करोड ८९ लाख ६३ हजार रहेको छ । अन्तःशुल्कतर्फ पुस मसान्तसम्ममा दुई अर्ब तीन करोड ४४ लाख २३ हजार असुली गर्ने लक्ष्य रहेकोमा ८२ करोड ५४ लाख ६० हजार कम संकलन भएको छ ।
मादकपदार्थको कारोबारमा कमी आएको, विकास निर्माण कार्यले तीव्रता नपाएको, जग्गाको कारोबार नभएको लगायत कारण अन्तःशुल्कतर्फ कम राजस्व संकलन भएको सापकोटाले जानकारी दिए । कार्यालयले आयकरमा एक सय ३२ प्रतिशत, मूल्य अभिवृद्धि करमा एक सय ५९ प्रतिशत र अन्तःशुल्कमा ५९ प्रतिशत प्रगति हासिल गरेको छ ।
अहिले मुलुकको अवस्था सामान्य रहेको, व्यापारिक क्रियाकलाप पनि बढिरहेको, निर्माणका कार्य पनि शुरू भएको अवस्था र कोरोना महामारीको अवस्थामा पनि व्यापार व्यवसाय सञ्चालनमा आएकाले आउने दिनमा अन्तःशुल्कमा पनि सुधार हुने कार्यालयले बताएको छ । राससको समाचार आर्थिक अभियान दैनिकमा छ