विराटनगर । सरकारले चालेको कदमलाई अदालतले सच्याउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । नेपाली कांग्रेस अलमलमा नभई विघटनका विरुद्ध रहेको बताउँदै उनले सरकारले चालेको कदमलाई अदालतले सच्याउनु पर्ने बताए ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिकाले आयोजना गरेको विरोधसभामा उनले संसद् पुनस्थापना हुनुपर्ने बताए ।
न्यायालयमा पुगेको मुद्दाका विषयमा दबाब दिन नमिल्ने चर्चा गर्दै सरकारले घोषणा गरेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र सहभागितामूलक हुनुपर्ने धारणा राखे । डा कोइरालाले अहिलेको सरकारले मन्त्रिमण्डल विस्तार गर्न नुहने भन्दै मुलुक द्वन्द्वमासमेत फस्न नहुने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अंसारी र विराटनगर महानगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस महानगर समितिका सभापति भीम पराजुलीले सुविधाजनक बहुमत सरकारले चालेको पछिल्लो कदम संविधान विपरीत रहेकाले सच्याउनु पर्ने बताए ।रासस