birat ribon

चिसो बढेसँगै विपन्न परिवारको दिनचर्या कष्टपूर्ण

Neuro
चिसो बढेसँगै विपन्न परिवारको दिनचर्या कष्टपूर्ण

मोहन ढकाल

Padelux insider
cura insider

विराटनगर / विराटनगरलगायत देशभर अत्यधिक चिसो बढेको छ । केही दिनदेखि निरन्तरको हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित हुन थालेको छ । जसका कारण विपन्न वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् ।

विराटनगरका विपन्न परिवार जाडो बढेसँगै समस्यामा परेका छन् । न्यानो कपडाको अभावमा विशेषगरी बालबच्चा र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । विराटनगरमा चिसो बढेसँगै प्राय: सबैतिर आगो तापेर बसेको देखिन्छ ।

चिसो बढेसँगै विपन्न परिवारलाई समस्या भएको छ । चिसोका कारण बालबच्चा र वृद्धवृद्धालाई सबैभन्दा बढी समस्या भएको विराटनगर बखरीकी सावित्रीदेवी कामतले बताइन् । वरिपरिका छिमेकीसँगै पराल बालेर आगो तापिरहेकी उनले भनिन्, ‘जाडोका कारण धेरै समस्या भएको छ । न्यानो कपडाको अभावमा कसरी जाडो कटाउने भन्ने पिरलो भएको छ ।’ अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भए पनि स्थानीय जनप्रतिनिधिले अहिलेसम्म समस्यासमेत नबुझेको उनीहरुले बताएका छन् ।

बखरीका स्थानीय सुपिन कामतले जाडोबाट मुसहर बस्तीका बालबच्चा सबैभन्दा बढी प्रभावित भएको बताए । न्यानो कपडाको अभावमा मुसहर बस्तीका विपन्न मानिसहरु धेरै समस्या परेका छन् । उनले भने, ‘राज्यले केही राहतको व्यवस्था गर्नुपर्ने हो । तर अहिलेसम्म तीनै तहको सरकारको ध्यान विपन्न नागरिकप्रति गएको छैन ।’

यस्तै मोरङको कटहरी गाउँपालिका–१ का जिलेबिया मुखिया चिसो भुइँमा रात कटाउन बाध्य भएका छन् । वृद्ध अवस्थामा घरबाट निकालिएपछि अत्यधिक चिसोमा पनि परालको ओछ्यानमा रात कटाउन बाध्य छन् । अर्कैको भत्किएको झुप्रोमा उनीसँगै परिवारबाट निकालिएका प्रदीप साह पनि चिसो भुइँमा रात कटाउन बाध्य भएका छन् ।

उमेरले ७० पुगेका जिलेविया पाँच वर्ष अघिसम्म रिक्सा चलाउँथे । काम गर्न नसक्ने भएपछि घरबाट निकालिनु परेको भन्दै गुनासो गरेका छन् । मुखियाको घर मोरङको कटहरी गाउँपालिका–१ टाइगर टोलको सुकुम्वासी बस्तीमा छ । तर परिवारले घरमा बस्न नदिएपछि उनको विचल्ली भएको छ ।

चिसोका कारण दैनिकी कष्टकर भइरहेको अवस्थामा बिहान–बेलुका के खाने भन्ने चिन्ताले पिरोल्ने गरेको उनले सुनाए । ‘काम गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘काम गर्न सक्ने भए त जसोतसो खानलाउन समस्या हुने थिएन, अब जसोतसो बस्नु परेको छ । कसले हेर्छ र घरबाट त निकाले ।’

जिलेविया जस्तै प्रदीपको पीडा पनि उस्तै छ । परिवारले घरबाट निकालेपछि प्रदीप पनि मुखियासँगै चिसो भुइँमा रात काटिरहेका छन् । उनीहरुले जाडो कष्टकरपूर्ण तरिकाले बिताइरहेको स्थानीय कृष्ण माझीले बताए ।

विराटनगर–१९ को सुकुम्बासी बस्तीका विपन्न वर्ग पनि जाडोबाट प्रभावित भएका छन् । जाडोमा न्यानो कपडाको अभावमा धेरै समस्या भएको श्यामवती ऋषिदेवले बताइन् । कामसमेत नभएको अवस्थामा र बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या हुन्छ,’ उनले भनिन्, ‘न्यानो कपडा कहाँबाट ल्याउनु ?’ उनीजस्तै सुकुम्बासी बस्तीमा जाडो बढेसँगै दैनिकी कष्टकर बन्दै गएको छ । सुकुम्बासी बस्तीकी कलसरी ऋषिदेवले समस्यामा पनि कसैले नहेरेको बताइन् । भोट माग्ने बेलामा अनेक बहाना बनाएर आउने नेताहरु समेत समस्यामा बेखबर भएको कलसरीले बताइन् ।

हावापानी फिल्ड कार्यालय विराटनगरका अनुसार विराटनगरको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियससम्म झरेको छ । बिहीबार विराटनगरको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस थियो । यस्तै शुक्रबारको अधिकतम तापक्रम १४ दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । बिहीबार २० दशमलव २ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम शुक्रबार घटेको हावापानी फिल्ड कार्यालय विराटनगरले बताएको छ ।

jackson ribon