birat ribon

जिब्रोको गरिमा, मिठो बोलीमा

Neuro
जिब्रोको गरिमा, मिठो बोलीमा
ब्रह्माकुमार भरतकुमार श्रेष्ठ

भनिन्छ, ‘जिब्रोमा हाड हुँदैन तर हाड नभएको जिब्रोले हजारौँ हाडहरू तोडिदिन्छ ।’ मानव जीवनमा बोलीको धेरै महत्व रहेको छ । हरेक मानिसले अन्य व्यक्तिबाट मीठो बोलीको अपेक्षा गरिरहेको हुन्छ, तर एउटा कुराको ख्याल भने अलि कम गरिरहेको हुन्छ कि मैले पनि अरूलाई मन पर्ने मीठो बोली नै बोल्नु छ भन्ने कुरा । वास्तवमा भन्ने हो भने व्यक्तिको पहिचान नै बोलीबाट हुने गर्दछ । हामीले हाम्रो जीवनमा जति आवश्यक छ, त्यतिमात्र बोल्नु राम्रो हुन्छ ।

Padelux insider
cura insider

संसारमा कैयौँ असल एवम् सफल मानिसको जीवनलाई अध्ययन गर्ने हो भने हरेक व्यक्तिले बोलीलाई महत्व दिएको पाइन्छ । आवेशमा आएर बोलेको बोलीले व्यक्तिको जीवनमा नकारात्मक प्रभाव पर्ने गर्दछ । कैयौँ व्यक्तिहरूको मुखबाट हामी सुन्ने गर्दछौँ कि सत्य कुरा बोल्न डराउनु हुँदैन । विचारणीय कुरा के छ भने बोलीवचन बोल्दा सत्यता मात्र होइन हामीले सत्यताको साथमा सभ्यता र संयमतालाई समेत भुल्नु हुँदैन । त्यसैले नेपालीमा उखान नै छ कि, ‘तोलाको जिब्रो चलाउनुभन्दा धार्नीको टाउको हल्लाउनु जाति ।’ अत्यावश्यकभन्दा बाहेक हामीले नबोल्नुमा भलाइ हुन्छ । जति हामी कम बोल्छौ, त्यति अरूले हाम्रो कुरालाई बढी महत्व दिई सुनिरहेका हुन्छन् ।

मीठो बोली बोलेर अरूको मनमा सकारात्मक प्रभाव पार्न सकिएन भने बरू नबोलिकन नै उसप्रति शुभभावनाको प्रकम्पन फैलाउन सक्यो भने झनै राम्रो हुन्छ, किनकि मुखको आवाज कानसम्म पुग्छ भने दिलको आवाज दिलसम्म पुग्दछ । बोलीको सन्दर्भमा कुरा गर्नु पर्दा अत्यन्त बिरामी भई समस्यामा परेको व्यक्तिलाई थोरै मात्र सहानुभूतिको बोली बोल्ने हो भने आधा रोग त्यसै निको हुने गर्दछ । त्यसैले त अस्पतालमा चिकित्सकको मीठो बोलीबाट नै बिरामीले आधा रोग निको भएको महसुस गर्दछन् । समस्यामा परेको बेलामा झन् निराश हुने बोलीवचनले मानिसको मानसिक अवस्थालाई झन् कमजोर बनाइदिने गर्दछ । त्यसैले कसैले सुन्दर गीत रचेका छन्, ‘कोई बोलीमा रस हुन्छ, कोई बोलीमा रिस, यही बोलीले गर्दा पिउँछन् मानिसले विष, अमृतको धारा हुन्छ, कोई बोलीमा धार, यही बोलीले गर्दा हुन्छ, छाती वारपार ।’

बोलीकै सन्दर्भमा कुरा गर्दा मलाई भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले प्रस्तुत गरेका आफ्नो जीवनमा भएको प्रेरणादायी डढेको रोटीको अनुभवको प्रसङ्गलाई यहाँ प्रस्तुत गर्न चाहन्छु । ‘जब म सानो थिएँ, मेरी आमाले हाम्रा लागि खाना बनाउनु हुन्थ्यो । दिनभरको थकानपछि एक दिन साँझ मेरी आमाले मेरो बुबाको अगाडि एक प्लेट तरकारी र केही असाध्यै डढेका रोटीहरू राखिदिनु भयो । त्यस्ता डढेका रोटी दिँदा बुबाले कस्तो प्रतिक्रिया दिनुहोला भनेर मेरो मनमा उत्सुकता जागिरहेको थियो । तर बुबाले डढेका रोटी अति मीठो मानेर खानुभयो । बरू खाने बेलामा तिम्रो स्कुल कस्तो भयो भनेर मलाई सोध्नुभयो । मैले त्यस साँझ मेरो बुबालाई के जवाफ दिएँ भन्ने मलाई सम्झना त छैन, तर मेरी आमाले रोटी डढेकोमा पटक–पटक बुबासँग क्षमा माग्नुभयो र त्यति बेला बुबाले फर्काएको जवाफ मेरो मानसपटलमा अझै गुञ्जिरहेको छ, ‘प्रिय, मलाई डढेको रोटी मनपर्छ’ सुत्ने बेलामा म बुबालाई शुभरात्रि भन्न गएँ । त्यसबेला मैले बुबालाई– ‘तपाईंलाई साँच्चिकै डढेको रोटी मन पर्छ त बुबा ?’ भनेर सोधेँ । बुबाले मलाई आफ्नो अँगालोमा लिनुभयो र भन्नुभयो, ‘तिम्री आमा दिनभरको मिहिनेतपछि खुब थाकेकी थिइन् तैपनि उनले हाम्रा लागि खाना बनाइन् र मुख्य कुरा, एउटा डढेका रोटीले कुनै हानी गर्दैन, तर रूखो वचनले धेरै हानी गर्छ ।’ यो प्रसङ्गले पनि हामीलाई नमीठो बोली बोलेर अन्य व्यक्तिको दिल दुखाउनु हुँदैन भन्ने प्रेरणा दिन्छ ।

बोलीकै सन्दर्भमा कैँयौँ प्रसङ्गहरू हाम्रा धर्मशास्त्रहरूमा पनि पाउँदछौ, एउटा अप्रिय बोलीकै कारण महाभारतको युद्ध भएको थियो । आध्यात्मिकतामा मान्यता छ मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्छ । हामीले कुनै पनि कुरा बोल्नुभन्दा पहिला हाम्रो मनमा सङ्कल्प चल्ने गर्दछ वा विचार उत्पन्न हुन्छ, त्यसपछि मात्र हामी बोल्दछौँ । जस्तो बोली बोल्दछौँ त्यस्तै हाम्रो कर्म बन्दछ । त्यसैले कुनै पनि बोली बोल्नुभन्दा पहिला राम्रोसँग सोचौँ, तौलिऔँ अनिमात्र बोल्ने गरौँ । ब्रह्माकुमारीमा एउटा स्लोगन एकदमै प्रख्यात छ, ‘कम बोलौँ, मीठो बोलौँ, विस्तारै बोलौँ, सोचेर मात्र बोलौँ र सत्य बोलौँ ।’

अढाई इन्चको जिब्रोलाई नियन्त्रण गर्न नसकी आवेशमा आएर बोलेको अपशब्दको कारण छ फिटको शरीरले कष्ट भोग्नु पर्ने हुन्छ । हामीले जीवनलाई सुधार्नु छ भने पहिला जिब्रोलाई सुधार्न अति अवश्यक छ । यसर्थ भनिन्छ पनि ‘जिब्रोको गरिमा मीठो बोलीमा ।’

jackson ribon