विराटनगर । भारतले आजदेखि पहिलो पटक सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । विशेष अभियानमार्फत भारतीय जनताले पहिलो पटक खोप पाउने भएका हुन् ।
बिहान साढे १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्ने बताइएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने तयारी भारतले गरिरहेको हो ।
कोरोनाका कारण प्रभावित हुनेमध्ये भारत विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । भारतमा हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ५२ हजार ९४ पुगेको छ । सङ्क्रमित सङ्ख्या एक करोड पाँच लाख ४२ हजार ६८ पुगेको छ ।
त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी गरेको हो । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमाभन्दा चीनको जनसंख्या बढी छ ।
खोपका लागि सात सय जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिमसमेतका आवश्यक जानकारी लिइसकेका छन् । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका ३० करोड व्यक्तिलाई खोप दिने तयारी गरिएको सरकारी अधिकारीले बताए ।
अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् । राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए ।
भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ ।
सरकारले २९ हजार चिस्यान विन्दुहरु, दुई सय ४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र तीन सयवटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ । कोरोनाभाइरसका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ । लाखौं मानिसले आफ्नो रोजगारी गुमाएका छन् ।
हालै भारतका १८ हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशतले कोभिड–१९ को खोप लिन आफूहरुलाई हतारो नभएको बताएका थिए ।सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोपको मूल्य भारतमा एक हजार भारतीय रुपैयाँ तोकिएको छ ।