विराटनगर । एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनल मा पुगेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा रियल मड्रिडलाई २–१ गोलले हराउँदै एथ्लेटिक क्लब फाइनलमा पुगेको हो ।
स्पेनस्थित ला रोसालेडा रङ्गशालामा भएको खेलमा एथ्लेटिकलाई जिताउन राउल गार्सियाले दुई गोल गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए ।
खेलको १८औं मिनेटमा गार्सियाले गोल गर्दै एथ्लेटिकलाई सुरुआती अग्रता दिलाएका थिए । ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गार्सियाले एथ्लेटिकको अग्रता दोब्बर बनाए ।
खेलको ७३औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल नहुँदा ११ पटकको सुपर कप विजेता रियल फाइनल पुग्न सकेन ।
अब एथ्लेटिकले १७ जनवरीमा उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोना बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
पहिलो सेमिफाइनलअन्तर्गत बार्सिलोनाले पेनाल्टी सुटआउटमा ३–२ गोलको जित निकाल्दै उपाधि नजिक स्थान बनाएको हो ।
बार्सिलोना सर्वाधिक धेरै १३ पटककाे सुपरकप विजेता टोली हो ।