Rumpum Advertisement

आचारसंहिता पालना गर्न हामी प्रतिबद्ध छौँ

प्रस्तावित छरितो पत्रकार आचारसंहिता

Neuro
आचारसंहिता पालना गर्न हामी प्रतिबद्ध छौँप्रस्तावित छरितो पत्रकार आचारसंहिता

– नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवर्धनका निम्ति सदैव सत्य–तथ्य सूचना प्रवाह गर्नेछौँ ।

– पत्रकार तथा सञ्चारमाध्यमले मानवअधिकारको विश्वव्यापी घोषणापत्र तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र र लिखतहरूले प्रत्याभूत गरेका अधिकार, सिद्धान्त र मान्यताहरूको सम्मान गर्दै लोकतन्त्र, न्याय, समानता, स्वतन्त्रता, समावेशीता, मानवीयता, शान्ति तथा अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रहरूबीच भाइचाराको संरक्षण तथा संवर्धन गर्नेछौँ ।

– नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि सदैव सक्रिय एवम् समर्पित रहनेछौँ ।

– वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नेछौँ ।

– सूचना वा जानकारीको सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नेछौँ ।

– पेसागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवम् मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नेछौँ ।

– पत्रकार तथा सञ्चार–माध्यमबीच व्यावसायिक, स्वस्थ, संयमित, मर्यादित र पेसानिष्ठ आपसी सम्बन्ध बनाउनेछौँ ।

– बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसङ्ख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पुर्‍याउने गरी सूचना सम्प्रेषण गर्नेछौँ ।

– समाचार सङ्कलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषणसम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित रहने सम्पादकीय स्वतन्त्रताको सर्वमान्य सिद्धान्तबमोजिम कुनै प्रकारको दबाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना सङ्कलन र समाचार, विचार तथा टिप्पणी प्रकाशन–प्रसारण गर्नेछौँ ।

– सम्पादकीय स्वतन्त्रताको सिद्धान्त आत्मसात् गर्दै समाचार सङ्कलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभावमा नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र संवर्धन गर्नेछौँ ।

– वस्तुनिष्ठ भई सत्य–तथ्य समाचार र सन्तुलित विचार सम्प्रेषण गर्नेछौँ ।

– पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी प्रचलित विश्वव्यापी मान्यताअनुसार समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नेछौँ ।

– कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याति, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नेछौँ ।

– समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नेछौँ ।

– अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपयोग गर्दा मूल–स्रोत उद्धृत गरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नेछौँ ।

– व्यक्तिको गोपनीयताको हकको सम्मान गर्नेछौँ । तर, सार्वजनिक हितमा त्यस्तो सूचना वा सामग्री सम्प्रेषण भएमा गोपनीयताको हकको सम्मान प्रतिकूल भएको मान्नेछैनौँ ।

त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पुर्‍याउने नियत राखी पत्रकारिताको पेसागत मर्यादा प्रतिकूल कार्य गर्नेछैनौँ ।

– कुनै पनि प्रायोजित भ्रमण तथा लेखनवृत्ति ग्रहण गरी तयार पारिएका सामग्रीको प्रायोजन वा वृत्ति लिइएको बारेमा सोही सामग्रीमा स्पष्ट खुल्ने गरी प्रकाशन वा प्रसारण गर्नेछौँ ।

– प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा सूचना सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनेछौँ ।

– कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नेछौँ । यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमि जस्ता विषयलाई यथासम्भव प्रस्तुत गर्नेछौँ । तर, मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पर्ने गरी गरिने कुनै पनि प्रकारका मत सर्वेक्षण वा सामग्री प्रकाशन वा प्रसारण गर्नेछैनौँ ।

– अन्तर्वार्ता दिने व्यक्तिलाई निजका भनाइहरू कुन सन्दर्भ, माध्यम र प्रयोजनका निम्ति प्रयोग गरिनेछ भन्ने विषयको पूर्व जानकारी दिएर अन्तर्वार्ता लिनेछौँ ।

– अनलाइन सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन–प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नेछौँ । प्रकाशित–प्रसारित सामग्री अनलाइनमा रहिरहने व्यवस्था गर्नेछौँ ।

– समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा सार्वजनिक सरोकार र संवेदनशीलतालाई सदैव ख्याल गर्नेछौँ । त्यस्ता सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु, त्रुटि एवम् गल्ती भएको जानकारी हुनासाथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रसारित सामग्री असत्य हो भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नेछौँ ।

– नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताविरूद्ध एवम् विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नेछैनौँ ।

– जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक तथा मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नेछैनौँ ।

– त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पुर्‍याउने नियत राखी पत्रकारिताको पेसागत मर्यादा प्रतिकूल कार्य गर्नेछैनौँ ।

– पत्रकार परिचयपत्र वा प्रेस प्रतिनिधि प्रमाणपत्र वा सञ्चारमाध्यमको अनुमतिपत्रलाई व्यक्तिगत स्वार्थ वा अवाञ्छित काममा प्रयोग गर्नेछैनौँ ।

– हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नेछैनौँ ।

– पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, सङ्केतलगायत सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नेछैनौँ ।

– यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा मानवताविरोधी अपराधबाट प्रभावित व्यक्ति ‘सर्भाइभर’ वा पीडित व्यक्ति ‘भिक्टिम’लाई नकारात्मक असर पार्न–सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नेछैनौँ । त्यस्तो अवस्थामा प्रभावित व्यक्तिको सचेत स्वीकृतिविना र प्रभावको मूल्याङ्कन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुलाउनेछैनौँ ।

– कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजिकका व्यक्तिको नाम असान्दर्भिक रूपमा जोडी कसैको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी कुनै पनि सामग्री प्रस्तुत गर्नेछैनौँ ।

– यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा सन्दर्भमा प्रभावितको सचेत स्वीकृति र प्रभावको मूल्याङ्कनविना नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नेछैनौँ ।

– समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवम् तस्बिरहरू सम्प्रेषण गर्नेछैनौँ ।

– कुनै टिप्पणी वा स्पष्टताविना तस्बिर, भिडियो दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने वा असान्दर्भिक हुने गरी सामग्री प्रकाशन वा प्रसारण गर्नेछैनौँ ।

– साजसज्जाका क्रममा वास्तविकताभन्दा अलग देखिने गरी नक्कली वा बनावटी किसिमले अलग–अलग फोटोहरू मिलाउने, छाँटकाँट वा तोडमोड गर्नेछैनौँ । मोडलिङ वा अभिनय वा रेखाचित्र वा कोलाज गरेर कुनै फोटो वा दृश्य तयार गरिएको खण्डमा पाठक, दर्शक वा श्रोता नझुक्किने गरी सो कुरा स्पष्ट उल्लेख गर्नेछौँ ।

– विज्ञापनलाई समाचार, लेख वा अन्य कुनै सम्पादकीय सामग्रीको रूपमा र समाचारलाई विज्ञापनको रूपमा प्रस्तुत गर्नेछैनौँ । विज्ञापनमार्फत समाचारको खण्डन गर्नेछैनौँ ।

– अनलाइनमार्फत सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्ने र एकपटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउने (पोस्ट डिलिट गर्ने) छैनौँ । तर, असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पुर्‍याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नेर्छौँ ।

– प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनेछैनौँ ।

– कुनै पनि सामग्री सङ्कलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दबाब वा प्रलोभनमा पर्नेछैनौँ । प्रायोजकबाट प्रभावित भई समाचार सामग्री सम्प्रेषण गर्नेछैनौँ ।

– समाचार–स्रोतसँग पेसागत मर्यादाविपरीत सम्बन्ध राख्न एवम् व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरूपयोग गर्नेछैनौँ ।

– कुनै पनि प्रविधिको अदृश्य रूपमा प्रयोग गर्नेछैनौँ । सार्वजनिक हितका लागि प्रविधिको गोप्य रूपमा प्रयोग गर्नुपरेमा त्यसरी सङ्कलित सामग्री प्रस्तुत गर्दा पाठक, श्रोता वा दर्शकलाई जानकारी दिनेछौँ ।

– न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रिया वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्नेछैनौँ ।

– पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, सङ्घसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनेछैनौँ ।

– अशक्त, असहाय तथा अन्य अल्पसङ्ख्यक समुदायका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्म–सम्मानमा प्रतिकूल असर पुर्‍याउनेछैनौँ ।

कानुन विपरीत कार्य वा बाल बिझ्याइँमा संलग्न बालबालिकासम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्तविपरीत गोपनीयता खोल्ने छैनौँ ।

– महिला तथा ज्येष्ठ नागरिकका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्‍याउनेछैनौँ ।

– अपाङ्गता भएका व्यक्तिका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्‍याउने र होच्याउने छैनौँ ।

– बालबालिकालाई तत्कालीन र दीर्घकालीन हानि हुने गरी समाचार सङ्कलन तथा सम्प्रेषण गर्नेछैनौँ ।

– कानुन विपरीत कार्य वा बाल बिझ्याइँमा संलग्न बालबालिकासम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्तविपरीत गोपनीयता खोल्ने छैनौँ ।

– आपराधिक गतिविधिमा संलग्न बाबुआमा वा परिवारका सदस्यहरूको समाचार दिँदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछ्नेछैनौँ ।

– १६ वर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तर्वार्ता वा तस्बिर अभिभावक, संरक्षक वा परिवारको अनुमतिविना लिनेछैनौँ ।

– व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नेछैनौँ ।

– यो आचारसंहिता पालना गर्न हामी प्रतिबद्ध छौँ ।

प्रतिक्रिया दिनुहोस्: