Rumpum Advertisement

खिचडीभित्र मिसिएको कालजयी सन्देश

खिचडीभित्र मिसिएको कालजयी सन्देश

माघको पहिलो दिनलाई सामान्यतया माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति भनिन्छ । कतिपय संस्कृतिमा आजको दिनलाई नयाँ वर्षका रूपमा पनि मनाइन्छ । थारु समुदाय र संस्कृतिमा आज माघी पर्वको अलग्गै रौनक छ ।

कन्टिर–बाबू पनि आजको दिनलाई तीला सङ्क्रान्तिका रूपमा मनाउँदै छन् ।

आज मान्यजनलाई तील ‘बहने’ (आफूभन्दा ज्येष्ठप्रतिको दायित्व निर्वाह गर्ने) प्रतिबद्धता व्यक्त गर्न उनी सबैलाई आग्रह गर्छन् । मिथिला संस्कृतिमा आज विशेष रूपमा तीलबा, चुडलाई, मुडलाई खाने चलन छ । खिचडी त माघको स्पेसल मेनु भइगयो । खिचडीका बारेमा प्रचलित एउटा लोकोक्ति त थाहै होला ! घि, पापड, दही, अचार, खिचडीका चार यार भन्छन् बुजुर्गहरू ।

ओहो … खिचडीको कुरा गर्दागर्दै कन्टिर–बाबूको मुख पो रसायो ।

त्यसो त कन्टिर–बाबू सबै धर्म–संस्कृतिका खुला प्रशंसक हुन् । सबैले सबैको संस्कृतिको सम्मान गर्नुपर्ने उनको आग्रह छ । आ–आफ्नो संस्कृति नयाँ–पुस्तामा हस्तान्तरण एउटा नियमित चलिरहने प्रक्रिया हो, जसमा ठूला–बडा अर्थात् अग्रजहरूको दायित्व र सहजीकरण प्रमुख हुन्छ ।

सिद्धान्ततः अग्रजबाट अनुजले सिक्ने हुन् । तर हाम्रा ठूला–बडा अगुवा भनाउँदाहरूको ताल देखेर कन्टिर–बाबू अचम्भित मात्र होइन, कहिलेकाहीँ दिग्भ्रमित नै हुन्छन् । राजनीतिलाई वीरबलको खिचडी बनाउन उद्दत हाम्रा ठूला–बडाको ताल, धर्म–संस्कृतिप्रतिको दृष्टिकोण जगजाहेर नै छ । अझ नेताजीहरूको परपीडक व्यवहार कसैबाट लुकेको छैन । यस्तोमा सानाले के ‘बहने’ हुन् ?

मिथिला संस्कृतिमा मनाइने यो पर्वले भावी पुस्तालाई अर्काे पनि विशेष सन्देश दिन्छ । ज्येष्ठ नागरिकको सेवा अपरिहार्य छ । कन्टिर–बाबू सोच्दै छन्, अरे यार तीलबा, चुडलाई, मुडलाई, खिचडी खान भनेपछि सबै मरिहत्ते गर्ने तर यो पर्वको कालजयी सन्देश ग्रहण गर्न भने कञ्जुस्याइँ गर्ने ?

यो त मिल्दैन भन्दै आजका दिन स्नान, जप, तप, ध्यान, साधना, दान आदि गरी मनाइने सबैखाले सांस्कृतिक पर्वसहित योग दिवसको सबैलाई कन्टिर–बाबूका तर्फबाट शुभकामना !

दक्षिणी गोलार्धबाट उत्तरतिर लागेको सूर्य यात्रा–क्रम पृथ्वीबासी सबैका लागि कल्याणकारी बनोस् ।

प्रतिक्रिया दिनुहोस्: