Rumpum Advertisement

माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

Neuro
माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

विराटनगर । माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उप राष्ट्रपति नन्दबहादुर पुनले शुभकामना दिएका छन् ।

भिन्दाभिन्दै सन्देश जारी गर्दै उनीहरुले माघे संक्रान्ति पर्वबाट नेपालीबीच आपसी एकता र सदभाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेका छन् । भण्डारीले यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी हुन् ।

यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।

त्यस्तै उपराष्ट्रपति पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।’ पुनले माघे संक्रान्ति रमाघी पर्व २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामनासमेत गरेका छन् ।

उपराष्ट्रपति पुनले नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठेको भन्दै यस्तो अवस्था सिर्जना हुनु ज्यादै दुःखद् भएको बताएका छन् । मगर, थारु, छन्त्याल लगायत समुदायले आ–आफ्नो मौलिकताका साथ मनाउने माघे संक्रान्ति पर्व सबै नेपालीको साझा भएको बताउँदै उपराष्ट्रपति पुनले यस पर्वले आपसी सदभाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: