Rumpum Advertisement

आज मकर सङ्क्रान्ति पर्व , आ–आफ्नो संस्कार र परम्पराअनुसार मनाइँदै

Neuro
आज मकर सङ्क्रान्ति पर्व , आ–आफ्नो संस्कार र परम्पराअनुसार मनाइँदै

विराटनगर । आज (बिहीबार) माघ १ गते अर्थात मकर सङ्क्रान्ति पर्व । विभिन्न समुदायले आ–आफ्नो संस्कार र परम्पराअनुसार सौर मासअनुसार माघ महिनाको पहिलो दिन प्रत्येक वर्ष यो पर्व मनाउने गरेका छन् ।

आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटो हुँदै जाने बताइन्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, माई लगायतका स्थान, नदी, जलाशय तथा पानीको स्रोतमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो ।

विभिन्न धार्मिक तीर्थस्थल एवं शक्तिपीठहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको थियो । विभिन्न ठाउँमा भब्य मेला लाग्छन् । तर यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण त्यो सम्भव भएन । त्यही पनि स्वास्थ्य सम्बन्धी सुरक्षा सावधानी अपनाएर विभिन्न स्थानमा पूजापाठ र धार्मिक गतिविधीहरु भइरहेका छन् । भीडभाड गर्दा कोरोना सङ्क्रमण फैलनसक्ने जोखिम रहेका कारण सावधानी अपनाउन सबैमा आग्रह गरिएको छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, ब्रत, ध्यान गर्नेले पुण्य प्राप्त गरी मनोकामना पूरा हुने विश्वास रहेको गौतमले बताए ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।

माघी पर्व आजै

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायमा छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाइन्छ । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने चलन छ । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता थारु समुदायमा रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि नेताको छनोट गरिन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी पर्व भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

प्रतिक्रिया दिनुहोस्: