विराटनगर । फियोरेन्टिनालाई २–१ गोलान्तरले पराजित गर्दै इन्टर मिलान कोपा इटालीयाको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति फियोरेन्टिनाको मैदान आर्तिमियो फ्रान्चिमा भएको अन्तिम १६ को खेलमा इन्टरलाई जिताउन रोमेलो लुकाकुको अन्तिम समयको गोल निर्णायक रह्यो ।

खेलको ४०औँ मिनेटमा आर्टुरो भिडालले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा इन्टरलाई अग्रता दिलाए पनि दोस्रो हाफको ५७औँ मिनेटमा क्रिष्चियन कौमइले फियोरेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए ।
निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको अतिरिक्त समयमा इन्टरका लागि लुकाकुले ११९औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
जितसँगै कोपा इटालियाको क्वार्टरफाइनलमा पुग्ने इन्टर दोस्रो टोली बनेको छ । हिजो भएको खेलमा टोरिनोलाई पेनाल्टीमा ५–४ गोलान्तरले पराजित गर्दै एसी मिलानले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।