Rumpum Advertisement

दम हुने सम्भावनालाई कम गर्न यी कुरामा ध्यान दिन आवश्यक

दम हुने सम्भावनालाई कम गर्न यी कुरामा ध्यान दिन आवश्यक

विराटनगर । जाडोमा दमको रोगी बढ्ने वा चिसोको कारण दमको समस्या भएका मानिसलाई गाह्रो हुने गर्छ । चिसो र सुक्खा हावाले वायुमार्गमा समस्या पैदा गर्ने हुँदा जाडोमा दमको समस्याले धेरै सताउने हुन्छ ।

चिसो हावाले सामान्यभन्दा मोटो खकारको उत्पादन बढाउँछ जसले वायुमार्गलाई साघुँरो बनाउँछ । जसकारण मानिसलाई सास फेर्न गाह्रो हुँदै जान्छ र दमको समस्या सुरु हुनसक्छ । दम चिसो हावा वा मौसम परिवर्तनका कारण मात्र नभइ वंशाणुगत, एलर्जी, प्रदूषणलगायत विभिन्न कारणले हुने गर्छ ।

पिनास, रुघाखोकी, वा फ्लूको सङ्क्रमण, धुलो, धुँवा, ढुसी, जनावरको छाला वा रौँ तथा परागकण, सेन्ट वा सरसफाइका रसायनको गन्ध, सूर्तिजन्य पदार्थ, धूम्रपान, अत्याधिक व्यायाम, पाचनमा समस्या, अत्याधिक चिन्ता, तनाव, दुःख वा हाँसो, औषधिको कारण दम हुने वा भएको मानिसलाई थप समस्या गराउन सक्छ ।

दम जुनसुकै अमेरमा सुरु हुनसक्छ तर, ४० वर्षभन्दा कम उमेरका मानिसमा यो बढी देखिने हुन्छ । बच्चाहरूमा समेत दमको समस्या हुनसक्छ । दमको समस्या भएकामा सास फेर्न गाह्रो हुने, खोकी, घ्यारघ्यार हुने, सास फेर्दा सिटी बजेको जस्तो आवाज आउने, छातीमा दवाव परेको जस्तो महसुस हुने, दुख्ने, श्वासप्रश्वासमा समस्या भएकोले सुत्न गाह्रो हुने गर्छ ।

दम एक दीर्घकालीन रोग हो जसले दीर्घ रूपमा फोक्सोलाई क्षति पु¥याउँछ । दमको उपचार गर्नु लामो समय औषधि लिनुपर्ने वा इनहेलरको प्रयोग गर्नुपर्ने हुनसक्छ । त्यसैले रोग लागेर उपचार गराउनुभन्दा पनि रोगको रोकथाम गर्नु नै उचित हुन्छ ।

केही कुराबाट एलर्जी छ भने सुरुआत देखिनै पहिचान गर्दै लगेमा दम हुने सम्भावनालाई कम गराउन सकिन्छ । साथै, सूर्तिजन्य पदार्थ तथा धुम्रपान त्याग्ने, जाडोमा चिसोबाट बच्न र खकारको उत्पादन रोक्नलाई चिसो खानेकुरा तथा पेयपदार्थबाट टाढा रहने, मास्कको प्रयोग गर्ने, रूघा लागेको, टिबी तथा अन्य व्याक्टेरियल र भाइरल सङक्रमण भएको बिरामीबाट टाढा रहने गर्नुपर्छ । दमका लक्षण देखा परे वेवास्ता नगरी डाक्टरसँग परामर्श लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्: