Rumpum Advertisement

भारत जाने पालो पर्खिरहेका चालक ट्रकभित्रै मृत भेटिए

Neuro
भारत जाने पालो पर्खिरहेका चालक ट्रकभित्रै मृत भेटिए

विराटनगर/विराटनगरबाट भारत जाने पालो पर्खिरहेको ट्रकका चालक मृत भेटिएका छन् ।

पालतर्फ ल्याउने सामान ‘लोड’ गर्न भारत जाने पालो पर्खिएर विराटनगर भन्सारनजिक बसिरहेका एक चालक ट्रकभित्रै मृत भेटिएका हुन् ।

भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मदको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार खाना खाएपछि उनी आफैँले चलाउने पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्रै मङ्गलबार राति सह–चालक पञ्जावकै २५ वर्षीय अब्दुल लतिकसँग सुतेका थिए । तर भोलिपल्ट बिहान उठेर हेर्दा मृत्यु भएको अवस्थामा शव देखेको भन्दै सह–चालकले प्रहरीलाई खबर गरेका थिए ।

चालक र सह–चालक सामान लिन जाने पालो पर्खिएर तीन दिनदेखि विराटनगर भन्सार कार्यालयनजिक बसिरहेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । चार दिनअघि ट्रकमा सामान लिएर आएपछि नेपालतर्फ ‘अनलोड’ गरेका उनीहरु फेरि सामान लिन भारततर्फ जाने पालो पर्खिएर बसेको पाइएको थापाको भनाइ छ ।

उनीहरुले विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित खोक्सामा ट्रक राखेका थिए । भारत जाने पालो पर्खने क्रममा उनीहरु खाना खाएर ट्रकमै सुत्ने र बस्ने गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले ट्रकभित्र ओढ्ने ओढेर सुतिरहेको अवस्थामा चालकको शव भेटिएको जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको उनले बताए ।