Rumpum Advertisement

प्रधानमन्त्रीलाई संविधान पढ्न ल क्याम्पस आउन विद्यार्थीको अनुरोध

प्रधानमन्त्रीलाई संविधान पढ्न ल क्याम्पस आउन विद्यार्थीको अनुरोध

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षीय विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको हो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम चालेको बताए । संविधानको सही व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधीशहरुलाई बाटो छेकेर संविधानको कुन धाराअनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनको भनाइ छ ।

अनेरास्ववियुका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नदिएको बताए । प्रधानमन्त्री ओलीलाई संविधानले धेरै दिन बालुवाटार बस्ने अधिकार नदिएको उनको भनाइ छ ।

अनेरास्ववियुले प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ । असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: