Rumpum Advertisement

जाडोमा पैताला फुट्ने समस्याको कारण र सजिलो समाधान

जाडोमा पैताला फुट्ने समस्याको कारण र सजिलो समाधान

विराटनगर/चिसो मौसममा अनुहार, हातखुट्टा सुक्खा र खस्रो भएर फुट्ने हुँदा धेरैले छालाको हेरचाह गर्ने गर्छन् ।

तर, जाडोमा धेरै समय मोजा र जुत्ता लाइरहने हुँदा खुट्टाको पैताला फुट्ने समस्यालाई धेरैले बेवास्ता गरेको हुन्छ । पैताला फुट्दा खुट्टालाई नराम्रो देखाउनुका पीडा र खुट्टामा इन्फेक्सन पनि गराउन सक्छ । शरीरमा क्याल्सियमको अभाव र मोइश्चरको कमी खुट्टा फुट्नुको मुख्य कारण हो । खुट्टाको पैताला र तलको छाला बाक्लो हुन्छ, त्यसैले शरीरमा बनेको सेबम, पैतालाको बाहिरी सतहमा पुग्दैन ।

जसकारण पौष्टिक तत्त्व र मोइश्चरको अभावको कारण पैतालाहरू सुक्खा हुने, क्र्याक भएर फुट्न थाल्छ । समस्या अधिक गम्भीर भएमा दुखाइ र पोल्ने हुनसक्छ, कहिलेकाहीँ रगतसमेत आउन सक्छ । पैताला फुट्दा उक्त स्थानको मासु खुल्ला भएको हुन्छ र छिट्टै ब्याक्टेरियाले सङ्क्रमण निम्त्याउने सम्भावना धेरै हुन्छ ।

पैताला फुट्न नदिन वा फुटेपछि उपचारका लागि बजारमा अनेकौ औषधि सजिलै पाइने गर्छ । तर, डाक्टरको सल्लाह लिएर मात्र त्यस्तो औषधिको प्रयोग गर्नु पर्छ । साथै केही सजिलो घरेलु उपाय अपनाएर पनि यसलाई निको पार्न सकिन्छ । खुट्टा वा पैतालामा जमेको कडा छाला हटाउनका लागि सेम्पुमा चिनी मिसाएर मालिस गर्न सकिन्छ ।

पैताला फुटेको समस्या देखा पर्नासाथ खुट्टालाई मनतातो पानीमा सेम्पु, कागती, नुन राखेर राम्रोसँग धोएर तौलियाले सफासँग पुछ्नु पर्छ । एउटा सानो भाँडामा गुलाबजल, कागतीको रस र गिल्सरिनको मिश्रण बनाएर वा गिल्सरिनमा पानी मिसाएर हरेक राति सुत्नुअघि पैताला तथा खुट्टामा मज्जाले लगाएर नकस्सिने मोजा लगाएर रातभरि छोड्नु पर्छ ।

भोलिपल्ट मनतातो पानीले खुट्टालाई पखालेर मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । पैताला फुट्ने समस्या भएकाले मोजा लगाएर बस्नु नै उचित हुन्छ । उक्त प्रक्रियालाई दैनिक निरन्तरता दिएर गरिरहँदा पैताला फुट्ने समस्या कम हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्: