Rumpum Advertisement

कोसी कोभिड अस्पतालमा दुई जना सङ्क्रमित मात्रै, नागरिक केयर सेन्टर खाली

कोसी कोभिड अस्पतालमा दुई जना सङ्क्रमित मात्रै, नागरिक केयर सेन्टर खाली

विराटनगर/कोरोना सङ्क्रमणदर घटेसँगै विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बिरामीको चाप घटेको छ । ८० बेडको उपचार केन्द्रमा दुई जना मात्रै बिरामी छन् ।
सङ्क्रमितलाई राख्न बेडको अभाव भएपछि कोभिड अस्पतालसँगै निर्माण गरिएको नागरिक केयर सेन्टर खाली छ ।

दसैँ–तिहारको अवधिमा विराटनगरमा कोरोना सङ्क्रमितको चाप उच्च थियो । चाप बढेका कारण बेड पाउनै मुस्किल परेको थियो । तर पछिल्लो समय भने कोरोना सङ्क्रमितको उपचार गर्ने सरकारी अस्पताल खाली हुने अवस्थामा पुगेको हो ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका निमित्त संयोजक एपोलो भगतका अनुसार बुधबारसम्म दुई जना मात्र बिरामी छन् । ‘८० बेडको अस्पतालको भेन्टिलेटरमा एक जना र जनरल बेडमा एक जना बिरामी हुनुहुन्छ,’ उनले भने, ‘नागरिक केयर सेन्टर उद्घाटन भएयता बिरामी भर्ना भएका छैनन् ।’

उनका अनुसार पुस पहिलो साताबाट बिरामीको चाप घट्दै गएको हो । बिरामीको चाप घटेपछि अस्पतालमा खेटिने जनशक्ति पनि घटाइएको छ । ‘यहाँ काम गर्ने जनशक्ति पनि कम गरिएको छ ।’ उनले भने, ‘बिरामी कम भए पनि नियमित ड्युटी गर्नुपर्छ ।’

प्रदेश १ मा पहिलो पटक गत वैशाखमा कोरोना सङ्क्रमण देखिएको थियो । त्यसयता विराटनगरको इस्टर्न स्टार होटललाई चिकित्सक र कर्मचारीका लागि क्वारेन्टाइन बनाएर उपचार सुरु गरिएको थियो । बिरामीको चाप घटेपछि होटल क्वारेन्टाइन पनि हटाइएको छ । मङ्गलबार प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको बिदाइ गरेका थिए ।

प्रदेश १ मा ३० हजार ३४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २९ हजार तीन सय २८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये चार सय ६३ जनाको मृत्यु भएको छ ।

नागरिक केयर सेन्टरलाई के गर्ने ?

समुदायस्तरमा सङ्क्रमण देखिएको विराटनगरमा सङ्क्रमितको संख्या बढ्दै गएपछि नेपाली काङ्ग्रेस नेता डाक्टर शेखर कोइरालाको पहलमा एक सय बेडको नागरिक केयर सेन्टर निर्माण गरिएको थियो ।

अक्सिजन सुविधासहित निर्माण गरिएको केयर सेन्टर गत ५ पुसमा उद्घाटन भएको थियो । उद्घाटनपश्चात केयर सेन्टरमा बिरामी भर्ना भएका छैनन् । ‘बिरामीको चाप कम भएकाले केयर सेन्टरमा भर्ना गरिएको छैन,’ निमित्त संयोजक भगतले भने, ‘अहिले प्रयोगविहीन छ ।’

निजी क्षेत्रको अगुवाइमा कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र परिसरमा रहेको नेसनल ट्रेडिङको भवनमा एक सय बेडको केयर सेन्टर निर्माण गर्दा करिब एक करोड खर्च भएको थियो ।

कोरोना सङ्क्रमण दर घटेपछि केयर सेन्टरलाई अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारलाई आग्रह गरिएको नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले बताए ।

‘अहिले सङ्क्रमित घटेका छन् । तर भोलि बढ्न पनि सक्छ,’ उनले भने, ‘हामी प्रदेश सरकारलाई गम्भीर प्रकृतिका रोगको उपचारका लागि प्रयोग गर्न सल्लाह दिएका छौँ ।’

केयर सेन्टर सञ्चालनका लागि प्रदेश सरकारले एक करोड, महानगरपालिकाले २५ लाख र विभिन्न निजी क्षेत्रका उद्योगी, व्यापारी, बैङ्कलगायतले छ करोड ७५ लाख सङ्कलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: