Rumpum Advertisement

जाडोमा सुगर र प्रेसर बढ्न सक्ने

Neuro
जाडोमा सुगर र प्रेसर बढ्न सक्ने

विराटनगर/जाडोमा खासगरी मौसम परिवर्तन भएका कारण रुघाखोकी मौसमी सङ्क्रमण, फ्लू, दम, हातखुट्टा तथा जोर्नी दुख्ने, भाइरल झाडापखालालगायतका समस्या देखापर्ने हुन्छ ।

यसका साथसाथै जाडोमा घरभित्र अत्यधिक सयम बिताउने, धेरै सक्रिय नरहने तथा खानपानमा ध्यान नदिएका कारण मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), थाइराइड रोग पनि बढ्ने हुन्छ । कोसी अस्पताल विराटनगरमा कार्यरत फिजिसियन डा. दिनेश न्यौपानेका अनुसार जाडोकै कारणले रगतमा चिनीको मात्रा बढ्ने तथा प्रेसर बढ्ने भन्ने खासै हुँदैन । तर, जाडोमा चिसोबाट बच्न घरभित्र धेरै बस्ने, हिँडडुलमा कमी हुने, शरीर सक्रिय नहुने, व्यायामको कमी तथा खानपानमा ध्यान नदिएको कारण प्रेसर बढ्ने तथा रगतमा चिनिको मात्रा नियन्त्रण नहुने तथा रोगले बिरामीलाई च्याप्ने गरेको हुन्छ ।

अस्पतालमा पनि सुगर र प्रेसरका नयाँ रोगीभन्दा पनि पुराना सुगर र प्रेसर भएका बिरामी फलोअपमा आउनेको सङ्ख्या धेरै छ । शरीरमा प्रेसर बढ्दा रिँगटा लाग्ने हुनसक्छ भने रगतमा सुगरको मात्रा बढ्दा बढी पिसाब लाग्ने, बढी तिर्खा लाग्ने जस्ता सामान्य सुरुका लक्षण देखापर्न सक्छन् । यस्ता सामान्य लक्षण देखापर्नासाथ बुझेर अस्पताल आएका बिरामीमा सुगर प्रेसरको समस्या देखिन सक्छ ।

बिरामीले समयमा उपचार पाउनुका साथै रोगलाई छिट्टै नियन्त्रणमा राख्न सक्छन् । तर, धेरैजसो मानिसले यी समस्यालाई समान्य सोची बेवास्ता गरिरहेका हुन्छन् । जसकारण अन्य जटिल समस्या भई अस्पताल आएका बिरामीमा जाँच गरेर हेर्दा सुगर तथा प्रेसर बढेको पाइन्छ । अत्यधिक शारीरिक तौल, मोटोपनाको समस्या भएका, शारीरिक रुपले निस्क्रिय रहेका, वंशाणुगत (परिवारका कुनै एक सदस्यमा रोग भए सन्तानमा सर्न सक्ने), खानपानमा गरेको लापरवाही, अत्यधिक गुलियो, नुनिलो, चिल्लो र कार्बोहाइड्रेटयुक्त खाना खाने मानिसमा सुगर र प्रेसरको जोखिम अन्यको तुलनामा धेरै हुन्छ ।

प्रेसर र सुगर दुबै रोगले आँखामा समस्या, मृगौलाबाट प्रोटिन लिक हुने समस्या, मृगौला बिगार्ने, हात खुट्टा झम्झमाउने, नसाको समस्या, दिमागमा पक्षघात, कोलेस्ट्रोलको मात्रा बढाएर हृदयघात हुने लगायतका जटिल समस्या निम्त्याउन सक्छ ।

सामान्य समस्या सोचेर सुगर र प्रेसरलाई बेवास्ता गरियो भने बिस्तारै–बिस्तारै यसले शरीरका महत्वपूर्ण अङ्गहरूमा आक्रमण गर्ने हुँदा विभिन्न समस्या देखिँदै जान सक्छ । रगतमा चिनीको मात्रा तथा प्रेसर बढेमा वा नियन्त्रण गर्न नसकेमा आँखामा, मुटुमा, मृगौलामा, नसा तथा दिमागमा असर गर्ने गर्छ ।

प्रेसर र सुगर दुबै रोगले आँखामा समस्या, मृगौलाबाट प्रोटिन लिक हुने समस्या, मृगौला बिगार्ने, हात खुट्टा झम्झमाउने, नसाको समस्या, दिमागमा पक्षघात, कोलेस्ट्रोलको मात्रा बढाएर हृदयघात हुने लगायतका जटिल समस्या निम्त्याउन सक्छ । यदि एकै व्यक्तिलाई दुबै रोग भएमा स्वास्थ्यमा विभिन्न समस्या आउने वा स्वास्थ्य छिट्टै बिग्रने सम्भावना धेरै हुन्छ ।

त्यसैले, समयमा जाँच गराएर रोगको पहिचान तथा उपचार गरी सुगर तथा प्रेसरलाई नियन्त्रण राख्न सकेमा यी रोगहरूबाट बच्न सकिन्छ । सुगर र प्रेसर एक दीर्घकालीन स्वास्थ्य समस्या भएको हुँदा यसलाई उचित सन्तुलित आहार र ठिक्क व्यायाम गरेर रोकथाम गर्न वा नियन्त्रण गर्न सकिन्छ । रक्तचाप र रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्नका लागि सबैभन्दा महत्तवपूर्ण भनेको शारीरिक रूपमा सक्रिय रहनु हो ।

शारीरिक रूपमा सक्रिय रहनका लागि दैनिक व्यायाम गर्नुपर्छ । ३० देखि ४५ मिनेट हल्का हिँड्ने, दौडने वा आफूले सक्ने जुनसुकै व्यायाम गरेर शरीरलाई चलायमान राख्नुपर्ने हुन्छ । शारीरिक रूपमा सक्रिय रहनुका साथसाथै खानपानमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । सन्तुलित भोजन (४० देखि ५० प्रतिशत कार्बोहाइड्रेट, १० देखि २० प्रतिशत फ्याट र ३० देखि ४० प्रतिशत प्रोटिन, खनिज लगायतका खानालाई मिलाएर खाइने आहार) को सेवन गरी व्यायाममा जोड दिँदा सुगर प्रेसरको समस्या हुनुभन्दा अगाडि नै केही हदसम्म रोक्न सकिन्छ ।

गुलियो, नुनिलो, चिल्लो तथा प्रशोधित खानाका कारण पनि सुगर प्रेसर बढ्ने जोखिम रहनसक्ने हुँदा यस्ता खानालाई कम मात्रामा सेवन गर्नु नै राम्रो हुन्छ । अत्यधिक मदिरापान, धुम्रपान वा रक्सी–चुरोटको लतका कारण पनि सुगर तथा प्रेसर बढ्ने सम्भावना हुन्छ ।

तर, वंशाणुगत कारणले हुनसक्ने हुँदा समस्यालाई पूर्ण रूपमा रोक्न नसके पनि यसलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । गुलियो, नुनिलो, चिल्लो तथा प्रशोधित खानाका कारण पनि सुगर प्रेसर बढ्ने जोखिम रहनसक्ने हुँदा यस्ता खानालाई कम मात्रामा सेवन गर्नु नै राम्रो हुन्छ । अत्यधिक मदिरापान, धुम्रपान वा रक्सी–चुरोटको लतका कारण पनि सुगर तथा प्रेसर बढ्ने सम्भावना हुन्छ ।

रक्सी–चुरोटको सेवनलाई बिस्तारै कटौती गर्दै त्याग्नु नै स्वास्थ्यका लागि उचित हुन्छ । सुगर र प्रेसर रोग भएका बिरामीले व्यायाम, खानपान तथा डाक्टरको निगरानीमा रहेर औषधिको सेवन गर्नुपर्ने हुन्छ । डाक्टरले भनेको समयमा फलोअप चेकअप गराउने तथा नियमित जाँच गराइरहनुपर्ने हुन्छ । सुगर तथा प्रेसर भएको बिरामीलाई कुनै पनि समस्या नभए पनि एक वर्षमा वा कम्तीमा पनि ६–६ महिनामा मृगौला, मुटु, आँखाको जाँच गराउनु पर्ने हुन्छ । साथै, आफूले खाइरहेको औषधिले सुगर तथा प्रेसर नियन्त्रणमा छ कि छैन भनेर निगरानी गरिरहनु पर्ने हुन्छ ।

सुगर र प्रेसर वंशाणुगत तथा शारीरिक निस्क्रियता कारण हुने गरेको वा भएका रोग हुन् । यो रोग निको हुने रोग नभएको हुँदा यसलाई रोकथाम वा नियन्त्रण नै गर्नुपर्ने हुन्छ । सुगर र प्रेसरलाई नियन्त्रणमा राख्नका लागि औषधिको सेवन लामो समयसम्म वा जीवनभर नै सेवन गर्नुपर्ने हुन पनि सक्छ । रोगहरू गम्भीर तरिकाले बढ्दै जाने वा नियन्त्रणमा आउने हुँदा पहिला प्रयोग गरिरहेको औषधिले काम नगर्न पनि सक्छ, औषधिको मात्रा बढाउनुपर्ने वा घटाउनुपर्ने हुन सक्छ । सुगर भएका बिरामीमा रगतमा चिनीको मात्रा नियन्त्रण नभएमा औषधिबाट सुइमा जानु पर्नेसमेत हुन सक्छ ।

औषधिले रोगलाई नियन्त्रण गर्छ । साथै, लामो समयसम्म औषधि खाइरहँदा केही बिगार गर्ने वा समस्या भने हुँदैन । तर, डाक्टरको परामर्शअनुसार मात्र औषधिको सेवन भने गरिरहनु पर्छ । डाक्टरको सल्लाहविना आफूखुसी जथाभावी औषधि किनेर सेवन गर्ने वा आफूखुसी औषधिको सेवन छोड्ने वा डोज बढाउने गर्नु हुँदैन । स्वास्थ्यमा अन्य जोखिम हुन नदिन यो सबै डाक्टरको निगरानीमा नै गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: