Rumpum Advertisement

सगरमाथा भारतले आफ्नो दाबी गर्नुपर्ने भारतीय टेलिभिजनको जिकिर

सगरमाथा भारतले आफ्नो दाबी गर्नुपर्ने भारतीय टेलिभिजनको जिकिर

विराटनगर । नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा भारतले आफ्नो दाबी गर्नुपर्ने विवादस्पद रिपोर्ट एउटा भारतीय टेलिभिजन च्यानबाट प्रसारण भएको छ ।

नेपालको आन्तरिक मामिला र भारतले मिचेको सीमा क्षेत्र सम्बन्धी समस्यामा पटकपटक हस्तक्षेपको प्रयास गरेर विवादमा तानिँदै आएको भारतीय न्यूज च्यानल जी न्यूजले पुनः फेरि एक पटक अर्को विवादस्पद र हाँस्यस्पद रिपोर्ट प्रस्तुत गरेको हो । भारतले सगरमाथा दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने आपत्तिजक जिकिरसहितको रिपोर्ट प्रसारण गर्दै उक्त टेलिभिजन च्यानलले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने काम गरेको छ ।

जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर यस्तो दाबीसहितको रिपोर्ट प्रसारण गरेका हुने । उनले प्रसारणका क्रममा भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका कारण नाम सगरमाथाबाट हटाएर ‘राधानाथ सिकदर’ राख्नुपर्ने जिकिर चौधरीले गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरमा बोलाएर उनलाई सोमबार अन्तरवार्ता दिएका थिए । त्यस क्रममा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएको बताइसकेका छन् । उनले चीन र भारतबीचको विवादमा नेपाल पर्न नचाहेको र दुवै देशबीच समन्वय गर्न मध्यस्थताको भूमिकामा रहने स्पष्ट पारिसकेका छन् ।

यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।

त्यसप्रति आफ्नो प्रतिक्रिया जनाउँदै उनले ट्वीटरमा लेखेका थिए, ‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’ तिनै विवादित जी न्यूजका प्रधानसम्पादक चौधरीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले अन्तरवार्तामा दिएका थिए ।

ओलीले नेपालकै पक्षमा दिएको अन्तरवार्तालाई सकारात्मक मानिएको थियो । भारतले वर्षौदेखि मिचेको भूमि नेपालकै भएको स्पष्ट सन्देशसहित प्रधानमन्त्रीले दिएको अन्तरवार्ताको सबैले प्रशंसा गरेका थिए । तर त्यही टेलिभिजन च्यानलले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने र सबै नेपालीको मन दुखाउने रिपोर्ट प्रसारण गरेपछि अहिले माहोल तरंगीत बनेको छ । उक्त प्रसारणको सबैले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: