काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताएकान छन् ।
मङ्गलबार पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अदालतले संविधानको सही व्याख्या गर्ने र पुनःस्थापना हुन्छ भन्नेमा आफूहरू विश्वस्त रहेकाले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।
‘सर्वोच्च अदालतले संविधानको अक्षर, भावना र मर्मको व्याख्या गर्ने हो, आफूखुसी संशोधन गर्ने होइन’, उनले भने, ‘संविधानमा हुँदै नभएको व्याख्या गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन, तपाईँहरू ढुक्क हुनुहोला, प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ ।”
अध्यक्ष दाहालले संविधानविद्, पूर्वन्यायाधीश र धेरै मानिससँगको अन्तर्क्रियाबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास रहेको बताउँदै उनले संविधान र लोकतन्त्र अप्ठ्यारो परेको बेला राष्ट्रका जिम्मेवार नागरिकले यसबारेमा आवाज उठाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘माथिदेखि तलसम्म सबै पार्टी सङ्गठन विघटनको घोषणा गरेका छौँ, राजनीतिक प्रतिवेदन र विधान नयाँ बनाएका छौँ र त्यहीअनुसार परिचालित छौँ । अब पुनः पछाडि फर्काउने षड्यन्त्र परास्त गरी छाड्छौ ।’
उनले संवैधानिक अङ्गले कानूनबमोजिम पार्टी आधिकारिकताको विवाद निरुपण गर्ने विश्वास गरे । आफूहरूले बहुमत केन्द्रीय सदस्यको प्रतिनिधित्व गरेको जिकिर गर्दै उनले नेकपा र चुनाव चिह्न सूर्य पनि आफूहरूले पाउनुपर्ने दाबी निर्वाचन आयोगसमक्ष गरिएको बताए । रासस