birat ribon

डिडिसीका पूर्व–अध्यक्षमाथि इँटा चोरीको आरोप, उजुरी दर्ता गर्न प्रहरीको आनाकानी

Neuro
डिडिसीका पूर्व–अध्यक्षमाथि इँटा चोरीको आरोप, उजुरी दर्ता गर्न प्रहरीको आनाकानी

विराटनगर । दुग्ध विकास संस्थान (डिडिसी)का पूर्व–अध्यक्ष विष्णुप्रसाद मैनालीमाथि दस लाख इँटा चोरी गरेको आरोप लागेको छ । इँटा उद्योगीसमेत रहेका मैनालीसहित उद्योगका पाँच जना सञ्चालकलाई इँटा चोरीको आरोप लागेको हो ।

राजाश्याम उद्योगका अध्यक्ष रहेका मैनालीविरुद्ध उनकै आफन्त विकास बजगाईँ र प्रकाश बजगाईँले १० लाख इँटा चोरी गरेको दावीसहित प्रहरीमा किटानी जाहेरी दिएका छन् । उद्योगी मैनाली विकास र प्रकाशको बुबा टीकाप्रसादका व्यवसायिक साझेदार र आफन्त हुन् ।

cura insider

तर बुबाको मृत्युपछि आफ्नो जग्गामा रहेको दस लाख इँटा मैनालीसहितका उद्योग सञ्चालकले जालझेल गरी चोरी गरेको उनीहरूको आरोप छ । चोरीको आरोपमा बजगाईँ दाजुभाइले गत चैत ६ गते प्रहरीमा उद्योगका अध्यक्ष विराटनगर–२ का मैनाली, विराटनगर ३ का ७० वर्षीय उद्धवप्रसाद रिजाल, विराटनगर ३ मुनालपथ बस्ने हरिप्रसाद पराजुली, विराटनगर २ का लीलाप्रसाद पराजुली र भुपराज पराजुलीविरुद्ध जाहेरी दिएका थिए ।

तर प्रहरीले सुरुमा जाहेरी दर्ता गरेन । जाहेरी दर्ता नभएपछि उनीहरू परमादेशका लागि उच्च अदालत विराटनगरका पुगेका थिए ।

अदालतको आदेशपछि पनि प्रहरीले जाहेरी दर्ता गरेन् । तर अदालतको अवहेलना मुद्दामा परेपछि भने प्रहरीले जाहेरी दर्ता गरेको छ । जाहेरी परेको दस महिनापछि मोरङ प्रहरीले ९ पुसमा दर्ता गरेको हो ।

जाहेरी दर्ता गरेपनि आरोपीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान नगरेको विकासले बताए । मैनालीसहित पाँच जनाले आफ्नो जग्गामा रहेको एक करोड २० लाख रुपैयाँ बराबरको इँटा रातारात चोरी गरी लगेको उनको आरोप छ ।

जाहेरी दर्ता भएपनि आरोपीहरू पक्राउ गरेर अदालतमा बुझाउन प्रहरीले आलटाल गरिरहेकोले आफूहरू असुरक्षित भइरहेको विकासको गुनासो छ । यता, मोरङ प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

डिडिसीका पूर्व–अध्यक्षसमेत रहेका उद्योगी मैनालीले उच्च अदालतको आदेशअनुसार इँटा बिक्री गरेको बताएका छन् । ‘अदालतको आदेशपछि उद्योगमा रहेको इँटा निकालिएको हो,’ उनले भने, ‘चोरीको आरोप गलत हो ।’ उनले आफ्नो उद्योगले उत्पादन गरेको इँटा बिक्री गरेको दावी गरे ।

बजगाईँका बाबु टीकाप्रसादले मोरङको कटहरी गाउँपालिकाको भौडाहामा साझेदारीमा इँटा व्यवसाय गरेका थिए । २०७३ मा टीकाप्रसादको मृत्यु भएपछि उनकी श्रीमती सावित्रादेवी हकदार भएपनि साभेदारहरूले इँटाभट्टा र जमिन सबै आफूहरूको भन्दै एक्लौटी कारोबार गरेर मुनाफा उपभोग गरेको उनीहरूको आरोप छ ।

त्यसपछि भने एक सय कित्ता शेयर बिक्री गरेकोमा शेयर बिक्रीवापत दिनुपर्ने १५ लाख रकम दिएपछि पनि सावित्रालाई झुक्याएर खाली चेकमा सही गराएर विष्णुले नै लगेको बजगाईँ परिवारको आरोप छ ।

उद्योग स्थापना भएको १ बिगाहा ४ कठ्ठा जमिन साझेदारीले बिक्री गर्ने योजना बनाएको थाहा पाएपछि प्रकाश र विकास उच्च अदालत पुगेका थिए । अदालतले जग्गा बजगाईँ परिवारकै नाममा कायम गराउँदै निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारीपछि साझेदारहरूले भण्डारण गरेर राखिएको १० लाख इँटा एक्लौटी बिक्री गरेको विकासको गुनासो छ । त्यसपछि न्याय माग्दै अदालत पुगेपछि बजगाईँ परिवारलाई उच्च अदालतले कानुनअनुसार गर्नू भन्ने आदेश सुनाएको थियो ।

आदेशपछि बजगाईँ दाजुभाइले दस लाख इँटा चोरी गरेर बिक्री गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराउन पुगेका थिए । तर, प्रहरीले जाहेरी नलिएपछि ६ चैतमा हुलाकमार्फत पठाए । प्रहरीले चासो नदिएपछि गत २ असारमा निवेदन लिएर उच्च अदालत विराटगर पुगेका थिए ।

अदालतले जाहेरी दर्ता गरी अनुसन्धान गर्न आदेश जारी गरेको थियो । तर प्रहरीले पुनः आलटाल गरेपछि अदालतको मानहानी गरेको भन्दै ३ पुसमा रिट हालेका थिए । अदालतले कारण देखाऊ आदेश गरेपछि मोरङ प्रहरीले जाहेरी दर्ता गरेको थियो ।

‘उहाँहरू पहुँचवाला भएका कारण प्रहरीले हाम्रो जाहेरी नै दर्ता गरेन,’ विकासले भने, ‘अदालतको आदेशपछि जाहेरी दर्ता त भयो । तर प्रहरीले अनुसन्धानमा चासो दिएको छैन ।’

jackson ribon