birat ribon

रामोसलाई युभेन्टस ल्याउन सघाउँदै रोनाल्डो

Neuro
रामोसलाई युभेन्टस ल्याउन सघाउँदै रोनाल्डो

विराटनगर । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पूर्वक्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई युभेन्टस ल्याउन सहयोग गर्न थालेको बताइएको छ । इटालियन मिडियाका रिपोर्टअनुसार रोनाल्डोले पूर्वसहकर्मी रामोसलाई युभेन्टस ल्याउन सघाउन थालेका हुन् ।

रियलसँग सम्झौता नवीकरण गर्न आनाकानी गरेका रामोसलाई युभेन्टस ल्याउन रोनाल्डो लागिपरेको खेल मिडिया ‘फिचाजेस’ले दाबी गरेको छ ।

cura insider

रियलले नयाँ वर्ष २०२१ देखि स्पेनिस डिफेन्डर रोमाससँग सम्झौता नवीकरण गर्न प्रस्ताव टेबलिङ गरेको थियो । रियलका प्रशिक्षक जिनेदिन जिदानले १ जनवरी २०२१ मा रामोस रियलका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै सम्झौता थप्न प्रस्ताव गरेका थिए ।

तर, रामोस रियलको अफरबाट खुशी छैनन् । अरु दुई वर्ष सम्झौता लम्ब्याउने तयारीमा रियल रहँदा रामोसले करिब १० प्रतिशत तबल बढाउनुपर्ने माग गरेका थिए । हाल उनले रियलबाट प्रतिसिजन १५ मिलियन युरो कमाउँदै आएका छन् ।

रियलसँग सम्झौता थप्ने विषयमा दोधारमा रहेको मौका छोपेर युभेन्टसले उनलाई अनुबन्ध गर्ने मनसाय बनाएको बताइएको छ । र, युभेन्टसलाई ‘होस्टेमा हैंसे’ रोनाल्डोले थपेको खबरमा जनाइएको छ ।

खबरका अनुसार रोनाल्डोको पुनः एकपटक रामोससँग एकसाथ खेल्ने चाहना छ । रोनाल्डोकै आग्रहमा युभेन्टसले उनीमाथि इच्छा देखाएको पनि जनाइन्छ ।

त्यसबाहेक रोनाल्डोले रियलका प्रशिक्षक जिनेदिन जिदानलाई पनि युभेन्टस ल्याउन सघाउँदैछन् । फ्रान्सेली कोच जिनेदिन जिदानलाई युभेन्टसको प्रशिक्षक बनाउन उनले सहयोग गरिरहेको बताइन्छ ।

आन्द्रे पिर्लो यस सिजनको सुरुआतमा अप्रत्याशित रूपमा युभेन्टसको प्रशिक्षक बनेका थिए । युभेन्टसका पूर्व–खेलाडीसमेत रहेका पिर्लो मौरिजियो सार्री बर्खास्त भएपछि प्रशिक्षकको भूमिकामा क्लब फर्किएका थिए ।

युभेन्टस हाल लगातार दसौं लिग उपाधि जित्ने दौडमा छ । उसैगरी ऊ च्याम्पियन्स लिग पनि जित्ने दाउमा छ । यसका लागि च्याम्पियन्स लिगमा अझ धेरै अनुभव संगालेका कोचलाई नियुक्त गर्ने युभेन्टसको मनसाय रहेको बताइन्छ ।

पिर्लो हाल टोलीलाई माथि उकास्न सङ्घर्षरत छन् । हाल युभेन्टस सिरी ‘ए’का चौथो स्थानमा छ । १६ खेल खेलेको उसले नौ खेलमा जित, छ खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ । ऊ उपाधि दौडमा पछि परेको अवस्था छ । र, च्याम्पियन्स लिगमा पनि उसको प्रदर्शन सोचेअनुरुप भएको छैन ।

यदि, पिर्लो नेतृत्त्वमा यस्तै प्रकारको प्रदर्शन भएमा उनको भविष्य पनि युभेन्टसमा लामो देखिँदैन । यसकारण च्याम्पियन्स लिगमा राम्रो अनुभव भएको प्रशिक्षकको खोजीमा युभेन्टस लागिपरेको छ ।

खेल मिडिया ‘डन बालोन’का अनुसार युभेन्टसले पिर्लोलाई हटाउनु परेमा त्यस स्थानमा जिदानलाई ल्याउने सोचमा छ । जिदान भने रियल मड्रिडबाट ‘ट्रेबल’ उपाधि जित्ने र बर्नाबेउमै बस्ने जोड गरिरहेका छन् ।

तर, युभेन्टसको प्रयासमा स्ट्राइकर रोनाल्डोले सहयोग गरिरहेको बताइएको छ । रोनाल्डोले जिदानलाई टुरिन आउनका लागि ‘घचघच्याइरहेको’ खबरमा उल्लेख गरिएको छ ।

रियलमा रोनाल्डोले जिदानको नेतृत्त्वमा राम्रो प्रदर्शन गरेका थिए । उनले जिदानको नेतृत्त्वमा एक सय १४ खेल खेल्दा एक सय १२ गोल र ३० असिस्ट गरेका थिए । अब पुनः एकसाथ युभेन्टसबाट अगाडि बढ्ने रोनाल्डोको चाहना छ ।

jackson ribon