Rumpum Advertisement

रोनाल्डोले विश्वकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका हुन् ?

रोनाल्डोले विश्वकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका हुन् ?

विराटनगर । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्वकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेको विभिन्न रिपोर्टहरूले जनाइएका छन् । इटालियन क्लब युभेन्टसका फरवार्डले सिरी ‘ए’अन्तर्गत सासुलोसँगको खेलमा एक गोल गर्दै विश्वकै सर्वाधिक गोलकर्ता जोसेफ बिकानको रेकर्ड बराबरी गरेको बताइएको छ ।

युभेन्टसले सासुलोमाथि ३–१ गोलको जित निकाल्दा ३५ वर्षीय रोनाल्डोले एक गोल गरेका थिए । सोही गोलसँगै उनले आफ्ना गोलसङ्ख्या सात सय ५९ पुर्‍याए ।

रोनाल्डोले व्यवसायिक करिअर सुरु गरेको क्बल स्पोर्टिङबाट पाँच गोल गरेका छन् भने म्यानचेस्टर युनाइटेडबाट एक सय १८, रियल मड्रिडका लागि चार सय ५०, युभेन्टसका लागि ८४ र राष्ट्रिय टोलीमा एक सय दुई गोल गरेका छन् । उनको गोल तथ्याङ्कमा कुनै शङ्का छैन ।

तर, के रोनाल्डोले विश्वकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका हुन् त ? यो प्रश्नले भने साँच्चिकै अलमलमा पार्छ । ‘स्पोर्ट्स सकर तथ्याङ्क फाउन्डेसन (आरएसएसएसएफ) अनुसार विश्वकै सर्वाधिक गोलकर्ता बिकान नै हुन् । उनले पाँच सय ३० खेलमा जम्मा आठ सय पाँच गोल गरेका छन् ।

सो फाउन्डेसनका अनुसार सात सय ७२ गोल गरेका ब्राजिलियन खेलाडी रोमारियो दोस्रो सर्वाधिक गोलकर्ता हुन् भने सात सय ६७ गोल गरेका पेले तेस्रो सर्वाधिक गोलकर्ता हुन् । र, क्रिस्टियानो रोनाल्डो चौथो स्थान रहेको सो फाउन्डेसनको दाबी छ ।

सन् २००२ मा निधन भएका बिकानले रापिड भिएना, स्लाभिया प्रहालगायत पाँच क्लब र अष्ट्रिया तथा चेक रिपब्लिक गरी दुई देशबाट खेलेका थिए । उनले १९३१ देखि १९५५ सम्म फुटबल खेलेका थिए ।

तर, आठ सय पाँच गोलमध्ये कतिपय गोल आधिकारिक नभएको दाबी गरिन्छ । उनी आफैंले पनि यो कुरा स्वीकार गरेको बताइन्छ । बिकानले भियनाको रिजर्व टिमका लागि गरेको गोलको पनि गणना गरिएको केही रिपोर्टको दाबी छ ।

एक रिपोर्टका अनुसार बिकानले चार सय ९५ खेल खेल्दा सात सय ५९ आधिकारिक गोल गरेका थिए । उनले क्लब फुटबलमा ७३० र अन्तर्राष्ट्रिय खेलमा २९ गोल गरेका थिए । सोही रिपोर्टका आधारमा चाहिँ रोनाल्डोले सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन् ।

यता, तीन पटकका विश्वकप विजेता पेले र रामारियोको गोलसङ्ख्याले पनि सर्वाधिक गोलकर्ताको सूचीमा अलमल पारेको छ । ब्राजिलियन स्ट्राइकरद्वयले एक हजारभन्दा धेरै गोल गरेको दाबी गरिँदै आएको छ ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले हालै मात्र पलेको विश्व कीर्तिमान भङ्ग गरेका थिए । अर्जेन्टिनी स्टार मेस्सीले कुनै एक क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने पेलेको रेकर्ड तोडेका थिए । पेलेले सान्टोसका लागि छ सय ४३ गोल गर्दै उक्त कीर्तिमान बनाएका थिए ।

तर, सान्टोसले भने पेलेले मैत्रीपूर्णसहितको गोलसङ्ख्या गन्दा एक हजार ९१ गोल गरेको दाबी गरेको छ । यस्तै पेलेले भने आफ्नो इन्स्टाग्रामको बायोमा ‘सर्वाधिक गोलकर्ता लेख्दै एक हजार दुई सय ८३ गोलसङ्ख्या उल्लेख गरेका छन् ।

तर, मैत्रीपूर्ण र आधिकारिकता नपाएको खेल (सन् १९५९ मा आर्मी टिममा रहँदा)को समेत गोलसङ्ख्या घटाउने हो भने उनको गोलसङ्ख्या सात सय ५७ गोल नै हुनआउँछ ।

त्यसबाहेक रिमारियाले सन् २००७ मा एक हजार गोलको उत्सब मनाएका थिए । तर, उनले युवा टिम, मैत्रीपूर्ण र प्रदर्शनी खेलमा गरेका गोलसमेत यहाँ समावेश छन् । रोमारियाले आधिकारिक रूपमा सात सय ४५ गोल मात्र गरेका छन् ।

यसर्थ, रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बन्न सक्नेछन् । उनको सम्भावना छ तर विवादरहित सर्वाधिक गोलकर्ता भने बन्नेछैनन् ।

प्रतिक्रिया दिनुहोस्: