Rumpum Advertisement

विराटनगरमा निर्माणाधीन श्रद्धाआश्रम अलपत्र

जीर्ण बन्दै संरचना

Neuro
विराटनगरमा निर्माणाधीन श्रद्धाआश्रम अलपत्रजीर्ण बन्दै संरचना

मोहन ढकाल

विराटनगर/विराटनगर महानगरमा निर्माणाधीन श्रद्धाआश्रम अलपत्र अवस्थामा छ । वि.स. २०७२ बाट निर्माण सुरु भएको श्रद्धाआश्रम पछिल्लो समय जीर्ण बन्दै गएको छ ।

पाथीभरा जेष्ठ नागरिक श्रद्धाआश्रम महानगर र अस्ट्रेलियन एनआरएनको संयुक्त साझेदारीमा निर्माण योजना अगाडि बढेको थियो । निर्माणाधीन श्रद्धाआश्रम अन्यभन्दा फरक किसिमले निर्माण गर्ने योजना थियो ।

अपाङ्गमैत्री भवन साथै जुनसुकै उमेर समूहका व्यक्तिहरु स–सम्मान बस्न सक्ने गरी निर्माण गर्न खोजिएको महानगरका सामुदायिक विकास शाखा प्रमुख साथै श्रद्धाआश्रम व्यवस्थापन समितिका सचिव पुनमकुमार दाहालले बताए ।

विराटनगर–८ मा करिब दुई बिघा क्षेत्रफलमा निर्माण हुँदै गरेको श्रद्धाआश्रम ओझेलमा परेको छ । अहिलेसम्म एक करोड २६ लाख रकम खर्च भइसकेको दाहालले बताए । लगभग १२ करोडको लागतमा निर्माण हुने अनुमान गरिएको थियो ।

दाहालले भने, ‘२०७२ सालको भूकम्पका कारण सहयोगी संस्थाले श्रद्धाआश्रमभन्दा भूकम्पले क्षति पुर्‍याएको ठाउँमा सहयोग गरेका कारण रकम अभाव भएर निर्माण कार्य हुन सकेन । पहिलाको कार्य समितिको अवधि सकिएपछि नयाँ कार्यसमितिमा आएका नयाँ पदाधिकारीले चासो नदेखाएको हो कि जस्तो लागेको छ ।’

यस विषयमा बारम्बार पत्राचार गरिरहेको दाहालले बताए । ‘उक्त संस्थाले पनि निर्माण सम्पन्न गर्नै पर्छ, सहयोग गर्छौँ भन्ने प्रतिक्रिया दिने गरेको छ,’ दाहालले भने । तर कहिले सम्पन्न हुन्छ भन्ने एकिन नभएको उनको भनाइ छ । निर्माण सम्पन्न भएपछि दक्षिण एसियाकै नमुना श्रद्धाआश्रम हुने दाहालले बताए । सहयोगी संस्थाले निर्माण गर्न नसक्ने भन्ने जानकारी दिएको खण्डमा महानगर आफैँले निर्माण गर्ने दाहालको भनाइ छ ।

लामो समयदेखि निर्माण कार्य हुन नसक्दा भएको संरचनासमेत जीर्ण बन्दै गएको छ । निर्माण गर्न राखिएका निर्माण सामग्रीसमेत खराब भइसकेको छ । लामो समयदेखि राखिएका कारण सिमेन्ट डल्लो परेर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । त्यस्तै रड खिया लागेर खिइँदै गएको छ । निर्माण सामग्रीसमेत खुला चौरमा लापरवाहीपूर्ण तरिकाले राखिएको छ ।

श्रद्धाआश्रम निर्माणमा महानगरले पनि अभिभावकको भूमिका निर्वाह गरेको छ । तर महानगरले प्रभावकारी भूमिका खेल्न नसकेको विभिन्न पक्षको बुझाइ छ ।

श्रद्धाआश्रम देखदेखका लागि एक जना चौकीदार राखिएको छ । चौकीदार भोला दर्जीका अनुसार विगत तीन वर्षदेखि श्रद्धाआश्रमको निर्माण कार्य रोकिएको छ । निर्माण रोकिएपछि अहिलेसम्म महानगरले अनुगमनसमेत नगरेको स्थानीयको भनाइ छ ।