Rumpum Advertisement

कोरोना सङ्क्रमितमा निको भएको छ महिनासम्म पनि देखा पर्छन् यी लक्षण

कोरोना सङ्क्रमितमा निको भएको छ महिनासम्म पनि देखा पर्छन् यी लक्षण

विराटनगर/कोभिड–१९ बाट सङ्क्रमित भई अस्पताल भर्ना भएका धेरै बिरामीहरू छ महिनासम्म पनि कम्तीमा एउटा लक्षणबाट पीडित हुने गरेको चिनिया अध्ययनले देखाएको छ ।

ल्यान्सेन्ट मेकिडल जर्नलमा प्रकाशित उक्त रिसर्चमा कोभिडका कारण अस्पतालमा भर्ना गरिएको अधिकांश बिरामीहरूले सङ्क्रमणबाट निको भएको छ महिनापछि पनि अझै थकान र निद्रासम्बन्धी कठिनाइसहित विभिन्न लक्षणहरू भोगिरहेको उल्लेख गरिएको छ । वुहानमा एक हजार सात सयभन्दा बढी बिरामीमा गरिएको अध्ययनले ७६ प्रतिशत बिरामी अस्पतालबाट डिस्चार्ज भएको महिनौँपछि पनि कम्तिमा एक लक्षणबाट पीडित थिए ।

थकान र निद्रामा हुने कठिनाइ सबैभन्दा सामान्य पोस्ट कोभिडको लक्षण हो । कोभिड सङ्क्रमण भएको सुरुवाती छ महिनामा ६३ प्रतिशतमा थकान र २६ प्रतिशतमा निद्रामा समस्या हुने पाइएको छ । २३ प्रतिशत बिरामीमा चिन्ता वा डिप्रेसन देखिएको हुँदा कोभिडले लामो समयसम्म मनोवैज्ञानिक जटिलता पनि निम्त्याउन सक्छ । अध्ययनमा सहभागी जनाएका १३ प्रतिशत बिरामी जसको मृगौलामा कुनै समस्या थिएन जब कि अस्पतालमा भर्ना हुँदा उनीहरूमा मृगौला खराब भएको लक्षण देखा परेको थियो ।

धेरै गम्भीर बिरामीहरूमा निको भएको लामो समय बितिसक्दा पनि एक्स–रे गर्दा फोक्सोमा क्षति भएको प्रमाण निरन्तरता पाइरहेका अनुसन्धानकर्ताको भनाइ छ । अध्ययनका प्रमुख तथा नेसनल सेन्टर फर रेस्पिरेटरी मेडिसिनका प्रोफेसर बीन काओले कोभिड नयाँ प्रकारको रोग भएकाले भर्खर मात्र यसका केही दीर्घकालीन असरबारे बुझ्न थालेको बताएका छन् ।

प्रोफेसर बीनका अनुसार विशेषगरी कोरोनाले गम्भीर भएका बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेपछि पनि कुनै एक लक्षणबाट पीडित हुने तथा उनीहरूलाई लामो समयसम्म हेरचाह र उपचारको आवश्यक पर्छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले थकान, सास फेर्न गाह्रो हुने, खोकी, जोर्नीको दुखाइ र छाती दुख्ने सामान्य दीर्घकालीन कोभिडको लक्षणको रूपमा सूचीबद्ध गरेको छ ।

त्यस्तै, सोच्न र एकाग्रतामा कठिनाइ, डिप्रेसन र टाउको दुखाइ, निको भइसकेका कोभिडको बिरामीबीच देखिएको छ । थकान, निद्रामा कठिनाइ, चिन्ता वा डिप्रेसनलगायतका अध्ययनको निष्कर्ष सन् २००३ र सन् २००४ मा गम्भीर तीव्र श्वासप्रश्वास सिन्ड्रोम (सार्स)को विषयमा गरिएको अघिल्लो अनुसन्धानसँग मिल्छ । सार्सबाट बाँचेकामा गरिएको अध्ययनले ४० प्रतिशत बिरामीमा सङ्क्रमणको तीन वर्षभन्दा धेरै समय थकान महसुस गरिरहेका थिए । त्यस्तै अर्को अध्ययनले ३८ प्रतिशत सार्सबाट निको भएकामा १५ वर्षपछि समेत फोक्सोमा क्षति भएको प्रमाण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: